साझा कथा । विद्यार्थीले शिक्षकको कार्यकक्षमा ताला ठोक्छ, कर्मचारीले हाकिमको कार्यकक्षमा ताला ठोक्छ, जनताले नेता वा मन्त्रीको कार्यकक्षमा ताला ठोक्छ – यो सामान्य देखिरहेको घटना हो । तर, यस पटक मेयरले कार्यकारी प्रमुख (कर्मचारी)को कार्यकक्षमा ताला ठोके । यो घटना चाहिँ काठमाडौं महानगरपालिकाको हो ।
स्वतन्त्र उम्मेद्वारी दिएर मेयर पदमा विजयी भएका बालेन फरक कामका कारण चर्चामा आइरहन्छन् । कहिले आक्रोशमा, कहिले सुझबुझका साथ त कहिले कानुनका धाराधारामा टेकेर उनी फरक गर्न खोज्छन् । यस पटक चाहिँ उनले आफू मातहतका कर्मचारीको कार्यकक्षमा ताला लगाएर चर्चा बटुल्दै छन् ।
काठमाडौं महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक व्यवहोरा लेखेको भन्दै मेयर बालेन शाहले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, शाहको सचिवालय प्रमुख नुरनिधी न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो । कार्यपालिकाले वडा नम्बर १९ को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई सेवामा निरन्तरता दिने गरि गरिएको निर्णयमा प्रमाणकीरण गर्दा ६ जना उल्लेख गरेर कागज बनाइएको थियो । थप गरिएको एक जना व्यक्ति महानगरपालिकाकै कर्मचारीको छोरी रहेको बताइएको छ । उनलाई जागिर लगाउन लेनदेन समेत भएको आशंका गरिएको छ । सोही विषयलाई लिएर मेयर शाहले ४ जना कर्मचारीलाई निलम्बन गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमै ताला लगाउनुको कारण चाहिँ फरक छ । प्रमाणीकरण गर्दा बदनियतपूर्ण काम गरेपछि मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका थिए । उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन नसकिन्जेल कार्यालयमा हाजिर नहुन अधिकारीलाई भनेका थिए । तर, उनी विदा छोट्याएर सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको निर्देशनमा सचिवालयले ताल्चा लगाएको हो ।
मेयर शाहले अब अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा काममा लगाउन नसकिने बताइसकेका छन् । संघीय सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नतोकिन्जेल बिदामा बस्न अधिकारीलाई दबाव दिएका छन् । तर, अधिकारीले प्रतिरोध गरेर कार्यालय आउने बुझेपछि उनलाई रोक्ने रणनीतिमा मेयर बालेन शाहले यस्तो कदम चालेका हुन् । प्रमुख अधिकारी गत भदौ १६ गते मन्त्री स्तरीय निर्णयबाट महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियक्त भएका थिए ।