साझा कथा । २०८० को एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डलेको वार्षिक कार्यतालिका अनुसार एसईई परिक्षा चैतको पहिलो साताबाट हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसईई हुँदैन कि भन्ने भ्रममा नपर्न बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आग्रह गरे ।
संसद्मा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्ने अन्योलका बीच अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् ।
बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन) ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुन्छ । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साताबाट हुन्छ । माघको पहिलो सातामा रुटिन निकाल्छौँ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन्छ । यसमा कुनै शङ्का नगर्न सबैमा अनुरोध गर्दछौँ,’ अध्यक्ष शर्माले भने ।
यस वर्षको लागि एसईई परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका बोर्डले जनाएको छ ।
यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए ।

