साझा कथा । राम्रो कामको जस लिन आयोजना नसकिदै उद्घाटन गरेको वा एउटै आयोजनाको दुईदुई पटक उद्घाटन गरेका खबरहरु त हाम्रा लागि पाच्य नै थियो । तर, मेलम्ची खानेपानी आयोजनाको सातसात पटक उद्घाटन गरेर नेताहरुले लाजको पराकाष्ठै नघाइदिए । जुन कामको निरन्तरता आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिदिए ।
माघे संक्रान्तिको अवसरमा काठमाडौं आइपुगेको मेलम्चीको पानी एक विशेष कार्यक्रम गरेर प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्घाटन गरे । सिंहदरबारस्थित आफ्नै कार्यलय परिसरमा परम्परागत शैलीमा ‘ढुंगेधारा’ नै निर्माण गर्न लगाएर उनले पानी वितरणको उद्घाटन गरेका हुन् । मेलम्चीको पानी उद्घाटन गर्ने उनी सातौं व्यक्ति ।
मेलम्ची पानीको उद्घाटन गर्ने पहिलो व्यक्ति भने तत्कालिन खानेपानी मन्त्री विना मगर । उनले २०७७ असार २१ गते मेलम्ची पानीको उद्घाटन गरेकी थिइन् । मन्त्री पद खुस्किहाल्ने डरले सो बेला सुरूङ परीक्षण नै नगरी पानी पथान्तरण गरेकी थिइन् । जसका कारण अम्बाथानस्थित अडिट टनेल भत्किएको थियो र दुई जना इन्जिनियरले अनाहकमा ज्यान गुमाउनु परेको थियो ।
त्यसपछि, दोस्रो पटक २०७८ फागुनको पहिलो साता तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंमा पानी पठाउने कार्यको उद्घाटन गरेका थिए । उनीहरुले चाहिँ मेलम्चीको हेडवक्र्स अम्बाथानमा पुगेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उता, उद्घाटन गरेको झन्डै १० दिन पछि पानी काठमाडौं आइपुग्यो । काठमाडौं आइपुगेको पानी कसैले पनि उद्घाटन नगरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक फ्लसिङ टनेलको हाइड्रोलिक मेकानिकल गेटको बटम थिचेर पानीको उद्घाटन गरे । उनले २०७७ फागुन २२ गते पानी उद्घाटन गरेर प्रशोधन केन्द्रमा झारेका थिए ।
सोही पानी जनताको घरघरमा उद्घाटन गर्न बाँकी छ भन्दै तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा ढुंगेधारा नै निर्माण गर्न लगाएर मेलम्चीको पानी उद्घाटन गरिन् । २४ सै घण्टा पानी झार्ने भनेर राष्ट्रपतिले २०७७ चैत २० गते उद्घाटन गरेको धाराको हालत यो कन्तविजोक छ ।
राष्ट्रपतिले उद्घाटन गरेको अढाइ महिनापछि मेलम्चीमा बाढी आयो र मुहानमा ठूलो क्षेति पुर्यायो । तथापी, सामान्य टालटुले निर्माणपछि २०७८ चैतमा अस्थायी तवरले काठमाडौंमा पानी झारियो । तर, पुनः झरेको पानीको उद्घाटन भने भएको थिएन । त्यसैले, तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले बानेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्याङ्कीबाट स्टेरिङ घुमाएर मेलम्चीको पानी वितरणको उद्घाटन गरे ।
तर, केही महिना नबित्दै बर्खा लाग्यो, सुरूङको मुहान बन्द गर्नुपर्ने भयो । पछि पुनः सञ्चालन भएको पानी उनै मन्त्री चौधरीले २०७९ मंसिर २३ गते शुभारम्भ गरे । एउटै आयोजनाको दुईदुई पटक उद्घाटन गर्न पाउने उनी भाग्यमानी खानेपानी मन्त्री ।
२०५५ सालबाट निर्माणको पहल भएको मेलम्ची पानी २२ वर्षपछि काठमाडौं आइपुगेको थियो । जुन आयोजना सक्न नेपालले १९ प्रधानमन्त्री, २५ खानेपानी मन्त्री र २९ जना आयोजना प्रमुख झेल्नु प¥यो । अब पानी आएको ३ वर्ष नबित्दै सातौं पटक उद्घाटन भएको यो मेलम्ची पानीले कति पटक उद्घाटनको यो तामझाम झेल्नु पर्ने हो हेर्न बाँकी छ ।