साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयबाट १३ जना कर्मचारीलाई हटाएका छन् । उनीहरूलाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगाना र स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईंलाई बिदा गरेको हो । त्यस्तै, स्वकीय उपसचिव ओमकुमारी पौडेल, स्वकीय उपसचिवकै भूमिकामा रहेकी सावित्रीकुमारी अधिकारी पनि हटाइएकी छिन् ।
स्वकीय उपसचिव कलबहादुर नाथ, स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायक युवराज शाह पनि हटाइएका छन् । यसैगरी प्रशासन सहायक रामलाल पराजुली, कम्प्युटर सहायक बासुदेव शर्मा कम्प्युटर सहायक, कम्प्युटर सहयोगी खड्क योगी, कार्यलय सहायक अविनाश वाइवा, हलुका सवारी चालकद्वय रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाहीलाई बिदा गरिएको छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै आफ्नो सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए । त्यसअनुसार सचिवालयका १३ जना कर्मचारी कटौतीमा परेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयमा ५२ जनाको दरबन्दी रहेको छ । जसमध्ये प्रधानमन्त्रीले ३५ जनालाई सचिवालयमा नियुक्ति दिएका थिए । उनीहरूमध्ये २० जनालाई हटाउने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन कार्यशैली सुधारदेखि सचिवालयलाई पनि चुस्त बनाउने घोषणा गरेका थिए ।