Ad Banner

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित १८ जनाविरुद्ध अनुसन्धान सुरु

साझा कथा । कास्की प्रहरीले ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

सोमबार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पीडितहरुले पूरक जाहेरी दिएपछि उनीहरुविरुद्ध अनुसन्धान सुरु भएको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको जानकारी दिए ।

सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी परेको छ ।

पीडितहरुले १४ संस्थाहरुविरुद्ध पनि जाहेरी दिएका छन् । सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने माग छ ।

पोखरा महानगरको सहकारी शाखाको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

काठमाडौंमा रहेको ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीबी राईसहितको समूहले सूर्यदर्शनको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ। यसअघि नै जाहेरी परेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना प्रक्राउ परेका छन् भने बाँकी फरार छन् ।

सूर्यदर्शनका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र सञ्चालक समिति सदस्य भविश्वर अर्याल अहिले पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपियाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका पूर्वअध्यक्ष जीबी राई लगायतको विरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ ।

यो पढ्नु भयो ?