Ad Banner

“परिवर्तनकारी अब एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । २९ औँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उनले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताएका हुन् ।

अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ । परिवर्तनलाई उल्ट्याउन खोज्नेहरू पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उल्लेख गर्दै उनले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै परिवर्तनकारी एक ठाउँमा आउने बेला भएको बताए ।

विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै ‘प्रचण्ड’ले यससँगसँगै व्यक्तिगतरुपमा पनि क्रान्तिकारी ध्रुवीकृत भइरहेको बताए । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रुवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिए ।

ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकामा धन्यवाद दिँदै ‘प्रचण्ड’ले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गरे । सो क्रममा उनले पार्टी विधान र दस्ताबेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गरे ।

यो पढ्नु भयो ?