साझा कथा । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थियो ।
सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिन्छन् । उनले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएका छन् । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ । करिब तीन महिनासम्म मुस्ताङका हिमाली जङ्गलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उनले बताए । मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।
मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ । मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजङ्गल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्याएको उनले बताए । वैशाख–जेठसम्म्म अब बेँसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ, उनले भने । घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उनले बताए । पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आज त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिर–पाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ”, उनले भने ।
सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनी बताउँछन् । मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुख्र्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशीर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ , उनी भन्छन् । ४७ वर्षका छन्त्यालले भेडापालनबाट वार्षिक २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउछन् । भेडाबाख्राको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन, उनले भने । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।
पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश हिमबहादुरको हिम्मतले देखाएको धवलागिरि गाउँपालिका–५ कल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताए । दुई दशक लामो समय विदेश बसेर पुनः आफ्नै गाउँठाउँमा फर्किएर भेडापालन गर्नुभएका हिमबहादुरको हिम्मत सबैका लागि प्रेरणादायी छ, अहिले युवाहरू गोठ बस्न रुचाउने कुरा भएन, गोठलाई व्यवस्थित बनाउन र अनुदानमा सरकारी तवरबाट खासै प्रोत्साहन हुनसकेको छैन, तर हामीले उनलाई आवश्यक सहयोग गर्न सहजीकरण गर्ने पहल थालेका छौँ, उनले भने ।