साझा कथा । जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५ सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५ सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले सम्झौता भएकामध्ये चार सय ३५ घरको अन्तिम भुक्तानीसहित हस्तान्तरण गर्न बाँकी रहेको बताए । “लागत सहभागिताका लागि लाभग्राही स्वयंले शौचालय बनाउनुपर्ने प्रावधान कार्यविधिमा छ, शौचालय नबनेकाले कतिपयको अन्तिम भुक्तानी रोकिएको छ, अरु प्राविधिक कारणले पनि भुक्तानीमा ढिलाइ भएको हो”, उनले भने, “स्थानीय तहसँग साझेदारी गरेर भए पनि सम्झौता भएका लाभग्राहीलाई छिट्टै घर हस्तान्तरण गर्ने तयारीमा मन्त्रालय छ ।”
सङ्घ सरकारले जनता आवास कार्यक्रमका लागि दिने सर्शत अनुदान चालु आवदेखि रोकिएका कारण पनि कार्यक्रम कार्यान्वयनमा जटिलता थपिएको प्रवक्ता पौडेलको भनाइ छ । सम्झौता भएका सबै लाभग्राहीलाई एकै चरणमा भुक्तानी दिन प्रदेश सरकारसँग बजेटको अभाव रहेको प्रवक्ता पौडेलले बताए ।
सङ्घ सरकारको स्वीकृत कार्यक्रमबमोजिम आव २०७४÷०७५ मा छनोट भएका लाभग्राही मात्र उक्त कार्यक्रममा समावेश भएको मन्त्रालयले जनाएको छ । जनता आवास कार्यक्रम कार्यान्वयनका लागि प्रदेश र जिल्लास्तरमा समन्वय समितिसमेत क्रियाशील छन् ।