Ad Banner

दुध बिक्री नभएपछि किसानलाई दैनिक ४२ लाख घाटा

साझा कथा । दुध बिक्री घटेपछि चितवनका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरूले सो मात्रामा दुध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दुध नउठ्दा किसानले समस्या झेल्नु परेको हो । उनले दुध नउठ्दा समस्या भएको बताए । साउन यताको भुक्तानी ५२ करोड पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ । दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दुध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दुध बिक्री हुन नसकेको हो ।

सरकारले किसानको पैसा दिने सहमति गरे पनि अहिलेसम्म किसनाले पैसा नपाएको र दुध समेत उठ्न छाडेको उनले गुनसो गरे । दुध लैजाने उद्योगहरुले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले महङ्गो मूल्यमा दुध खानु परेको बताए । बगालेले भने, दुध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प छैन । चितवनसहित पाँच जिल्लाका किसानले एक साथ आन्दोलनमा जाने तयारी गरेको उनको भनाइ छ ।

यो पढ्नु भयो ?