साझा कथा । टी २० सिरिजको मंगलबार भएको खेलमा फराकिलो रन अन्तरले हराएको पपुवा न्युगिनी (पीएनजी)सँग नेपालले भोलि (बुधबार) फाइनल खेल खेल्ने भएको छ ।
मंगलबार नै भएको दोस्रो खेलमा घरेलु टिम हङकङलाई १० विकेटले पराजित गरेसँगै पीएनजीले फाइनल खेल नेपालसँग खेल्ने पक्का गरेको हो । फाइनल भिडन्त बुधबार नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ ।
नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा दुवै टिमले १/१ अंक बाढ्न बाध्य भएका थिए । लिग चरणको खेल सकिदा नेपालले ३ अंक जोड्यो भने पिएनजीले एक खेल जित्दै २ अंक बटुल्यो । घरेलु टिम हङकङले भने १ अंक मात्र जोड्न सक्यो । हङकङले अब तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।
मंगलबार दुई खेल खेलेको पीएनजीले पहिलो खेलमा नेपालसँग ८५ रनले पराजित भएको थियो । पहिले व्याटिङ गरेको नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले १७ औं ओभरमा अलआउट हुँदै १ सय १७ रन मात्र जोड्न सक्यो ।