बैशाखको पारिलो महिना थियो । सूर्यको ताप निकै बढी थियो बिहानैदेखि । मन र शरीरले उठ्न नमाने पनि भित्ताको घडी निरन्तर बगिरहेको थियो जसले मलाई बाध्य बनाउँथ्यो सधैँ उठ्नका लागि । आँखाबाट निन्द्रा विलाएपनि उठ्न मन लागेको थिएन । बिहानैदेखि एउटा अन्योलताले समात्यो मलाई । आज अफिस नजाउँ कि ? मनमा अन्योलताको तरङ्ग उठी रहे तापनि मेरो दैनिकी मलाई नै पर्खेर बसेको थियो । मेरो दैनिकी थियो: भान्साको काम, घर सफा गर्ने, खाना/खाजा बनाउने, नानीलाई तयार पार्ने, उनलाई स्कूलको गाडीसम्म पर्याउने अनि आफू पनि तयार भई हतार हतार अफिस जाने । जीवनयापनका लागि नै संघर्ष गरिरहेको एउटा महिलाका दैनिकी यिनै हुन् । म पनि आम महिला नै त थिएँ, के नै फरक थियो र ममा ?
आज अल्छी लाग्दै उठेको थिएँ । कुनै पनि कुरामा जाँगर थिएन मन र शरीरमा । खाना खाइसकेपछि एक्कासी निर्णय गरें – आज अफिस जान्न । झोला बिसाएर बसें अनि दुई चार जनालाई फोन गरें । पद्मकन्याका प्रदिप सरलाई पहिलो कल गरें, थेसिसको काम थियो । सरले आउनु भने पछि म लागें । पद्मकन्या क्याम्पस मेरो आजको कामको एक नम्बर सूचीमा पर्यो। त्यसबाहेक दिनभरिलाई पुग्ने गरी जाने ठाउँहरु र भेट्ने मानिसहरुको सूची थप गरी म निस्किएँ ।
आज म फिरन्ते भएर हिँडेको थिएँ । कुनै पनि लक्ष्य र महत्वपूर्ण काम थिएन । अफिसको काम त्यतिकै छोडेर हिँडेको थिएँ । साथमा गणेश रसिकको ‘दश गजामा उभिएर’ थियो । काठमाडौंका सडकहरु विस्तारित भएका थिए । बिकासले पखेटा हाल्दै थियो । मलाई आज मनदेखि फिरन्ते भएर हिँड्न मन थियो । मनले भनेको थियो, सारा दिन बरालिएर हिडौं, जहाँ मन लाग्यो त्यतै जाउँ, हराउँ कतै अन्तरकुन्तरतिर दिनभरि । हुन पनि म यसरी नहिँडेको धेरै भएको थियो । गैरसरकारी क्षेत्रमा काम गरेपछि जहिले पनि चटारो हुने । विकासे कामको जिम्मेवारी लिएपछि अत्यन्तै व्यस्ततामा बाँच्न सिक्नुपर्छ । मलाई त लाग्छ कि यो धन्दा सम्हालेपछि मर्न पनि एक पटक सोच्नैपर्छ । प्रतिवेदनका ठेली मरेपछि माग्न सक्छन् ।
सरकारी एवं गैरसरकारी क्षेत्रको चासोमा परेको बागमती नदी र यसको फेरिएको अनुहार मैले देखेको थिइन । यसबीचमा कतिजनाले फोहोर बटुलेर र कति जनाले नुहाएर बागमतीमार्फत आफ्नो नाम चम्काइसकेका थिए । छापा र विद्युतीय माध्यममा तिनको रामै्र चर्चा भइसकेको थियो । तर, म यी सबै चर्चाहरुबाट गुमनाम थिएँ । चारैतिरबाट चक्रपथ फराकिलो बनाइँदै थियो र यसमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा धेरै जना संलग्न थिए । चक्रपथ विस्तारकै कारण कतिको घरबास उठेको थियो । कोही घरवस्ती उठाउन सकेकामा असाध्यै खुशी थिए । कोही आफ्नो घर सग्लै रहेकामा खुशी थिए । फेरि कति भने सडक फराकिलो हुने कुरामा खुशी थिए । खुशीको कुनै सिमाना थिएन बजारमा । भर्खरैको वर्षातले सडक सफा देखिएको थियो । ती सडकमाथि सवारी साधनको लर्को थियो । केहीबेर रमिता हेर्दैहेर्दै बरालिन्छु र टेम्पो चढ्छु । अनि, पल्टाउँछु ‘दश गजामा उभिएर ।’
बाटो फराकिलो भएकोले होला, बागबजार पुग्न धेरै समय लागेन । टेम्पोबाट ओर्लनु अघि भाडा तिरें । चालकले १५ रुपैयाँ कटाएर बाँकी पैसा फिर्ता दिए । खास भाडा बीस रुपैयाँ हो । मैले ड्राइभरलाई पाँच रुपैयाँ फिर्ता दिँदै भनें ‘भाइ म उतैबाट आएको मेरो बीस रुपैयाँ भाडा हो ।’ उसको अनुहारमा अलिकति आश्चर्य र हल्का उज्यालो दौडियो । शायद: सोच्यो होला ‘सबै यस्तै मान्छे टेम्पो चढिदिए हुन्थ्यो नि ।’ टेम्पोमा सवार अरु सबै मान्छेले मेरो अनुहारमा हेरे । यो जमानामा पनि इमान्दारिताको पराकाष्ठा देखेर हो कि ! मेरो बारेमा उनीहरुको आआफ्नै धारणा बनेको हुनुपर्छ तर मलाई भने गर्वानुभव भइरहेको थियो ।
रत्नपार्कमा ओर्लिएर सरासर पद्मकन्या क्याम्पसमातिर सोझिएँ । प्रदिप सरलाई फोन गरें । सरले थेसिसका लागि चाहिने आवश्यक प्रकृयाका बारेमा जानकारी दिनुभयो । सर र म उभिएरै कुरा गरिरहेका थियौं । क्याम्पसमा केटाकेटीहरुको बाक्लो भिड देख्दा लाग्थ्यो क्याम्पसमा कुनै परीक्षाको केन्द्र परेको छ । सरसँगको भलाकुसारीपश्चात काम सकिएको हो कि जस्तो भयो ।
यसो क्याम्पस परिसरका ती रुखहरु, बगैँचा र भवनहरु नियालें । आज हतार थिएन । मलाई आज ती रुखका फेदमा बसेर समय बिताउन मन लाग्यो । केही वर्ष अघिको कुरा थियो, यिनै रुखका फेदमा हामी साथीहरु बस्थ्यौं । म उनीहरुको बीचमा लोकप्रिय थिएँ । सबैजना मिलेर पाँच-पाँच रुपैयाँ उठाउँथ्यौं र जेजे आउँछ त्यही खाजा ल्याएर खान्थ्यौं । म उनीहरुलाई डोरीका झोला बुन्न, रुमाल बुन्न, पेन्टिङ गर्न सिकाउथें । साथीहरु मलाई माया गर्थे । क्याम्पस पुग्न ढिला हुँदा सिट पाइदैनथ्यो । यस्ता बेलामा साथीहरुले मलाई सिट रोकिदिन्थे । धेरै जिल्लाका साथीहरु थियौं हामी । आज फेरि धेरै वर्षपछि त्यो दिनको याद मेरो मानसपटलमा घुम्न थाल्यो । क्याम्पस पछाडिको पिपलको फेदमा बसेर मैले आईए पढ्दादेखि एमए पढ्दासम्मका सबै साथीहरु सम्झिएँ । कतिको अनुहार याद आयो तर नाम सम्झिन सकिनँ ।
केहीबेर बसेपछि नेपाल ग्रामीण विकास समाज (एनआरडीएफ)का सचिव नारद बास्तोलाजीलाई फोन गरें । अफिस सरेको रहेछ । नयाँ अफिसको ठेगाना निकै रसिलो पारामा उहाँले बताउनुभो । बाटाको हुलिया यस्तो थियो – पद्मकन्याबाट पुतलीसडक हुँदै न्यू प्लाजातरि आउँने । त्यसपछि अनामनगरतिर लाग्ने । अनामनगरको बस स्टेशन पुगेपछि देबे्रपटि चार तल्लाको एउटा घर छ । त्यसमा ‘जो नाँच्छ, त्यो बढी बाँच्छ’ भनेर लेखिएको बोर्ड छ, त्यही घरमा आउनुस् । बागबजारबाट अनामनगर जान के गाडी चढ्नु र ? यसैपनि बसस्टपसम्म जान लाग्ने समय, गाडी पर्खन लाग्ने समय र स्टेशनैपिच्छे मान्छे डाक्न र ओराल्न लाग्ने समय हिसाब गर्ने हो भने म नै छिटो पुग्ने कुरामा कुनै शंका थिएन । तसर्थ, मैले हिँडेर जाने बिचार गरें । आखिर म हिँडेकै मान्छे त थिएँ नि ।
बाटोमा मान्छेको घचारो उत्तिकै थियो । पुतलीसडकमा बाटो काट्नका लागि थुप्रिएको भिडमा म पनि मिसिएँ । त्यहाँ थुप्रिएका मानिसहरुको उचाई र मोटाई देखेर दया लाग्यो । मेरै बराबरका उचाई भएका महिलाहरु अलि कम हुन् कि जस्तो लाग्यो । सबैको उचाई घटेको र मोटाई बढेको देखियो । नेपालीहरुको औसत उचाई देखेर मन पनि अमिलो भयो । महिला मात्र होइन, पुरुषहरुको उचाई पनि त्यति चित्त बुझ्दो देखिएन । मानिसको उचाई पनि ठ्याक्कै देशको उचाई जस्तो । विश्व मानचित्रमा मेरो देशको जुन स्थान र सम्मान विद्यमान थियो, त्यो देशमा चलेका विभिन्न युद्धहरु, राजनैतिक खिचातानी, एकपछि अर्को अप्रिय घटनाहरु आदिका कारणले क्रमिक रुपमा घटिरहेको थियो । यसो सोचें, मानिस लगायत देशकै उचाई घटिरहेका बेला सगरमाथा बाहेक केको नै उचाई बाँकी रहेको थियो र हामीसँग ?
बाटाभरि जागिर खोज्न हिड्नेको भीड थियो । दुईजना मभन्दा होचा तर पातला केटाहरु मभन्दा अगाडि हिँडिरहेका थिए । उनीहरुको औसत उचाई कम थियो तर बढ्ने उमेर भने सकिइसकेको छैन भन्ने देखिन्थ्यो । तीमध्ये एउटाले भन्यो, ‘यार यसपालि त जसरी नि जागिर नखाई भा छैन ।’ ‘खाने त खाने तर पाए पो खानु जागिर’ अर्कोले थप्यो । दुबै एक अर्कालाई हेरे अनि पुनः उही रफ्तारमा हिँडे ।
उनीहरुको यथार्थ पीर देखेर दिक्क लाग्यो । जागिर र पढाईको नाममा हराभरा हुने खेतबारी र आमाको न्यानो काख छोडेर ती काठमाडौं खाल्डामा आएका होलान् । नजाने कुन आशाको त्यान्द्रो समातेर भविष्य खोज्न आएका ती युवाहरु हिँडिरहेका थिए अनिश्चित भविष्यको भारी बोकेर । त्यो जागिर खोज्दै हिँडेको दुई जनाको त्यो सानो समूह अरु त्यस्तै सयौं युवायुवतीहरुको भीडमा मिसियो र लोकसेवा आयोगको कार्यालयभित्र पस्यो । कुन्नि कुन पदका लागि आवेदन खुलेको रहेछ । फाराम भर्नेहरुको लाइन लामै थियो । फाराम भर्ने जति सबैको नाम निस्किने होइन । तरपनि एउटा चित्त बुझाउने मेलो भने ति युवाहरुले पाएका थिए ।
मान्छेका भीडमा मिसिँदै अनामनगरतिरको ओरालो झर्दैै थिएँ । दाहिनेपट्टि ठिङ्ग उभिएको सिँहदरबार देखें । तर, सिंहदरबारलाई आधाआधि ढाक्ने गरी पर्खाल ठड्याइएको थियो । जनताका शासकहरु बस्न पनि जनतासित डराउनुपर्ने कहाली लाग्दो यथार्थ मेरा अगाडि मुख बाएर बसेको थियो । म यो दृश्यबाट सकेसम्म छिटो ओझेल पर्न चाहन्थें ।
नारदजीले दिनुभएको लोकेसशन साहै्र सजिलो थियो । ‘जो नाँच्छ त्यो बढी बाँच्छ’ लेखिएको बोर्डको तल आइपुगें म । नाचेर बढी बाँच्ने अभिलाषा लिएर कति मान्छे यो ठाउँमा आउँछन् त्यो त थाहा भएन तर नाम चाहिँ गज्जबकै राखेका रहेछन् । नारदजीलाई फोन गरेर आफू बढी बाँच्ने बोर्डको फेदैमा आइपुगेको जानकारी गराएँ । उहाँले माथिल्लो तल्लामा आउन भन्नुभो । लामो समयपश्चातको भेटघाट, भलाकुसारी र चियाबाट सुरु भएको हाम्रो कुराकानी संस्थाको नवीकरणदेखि लिएर व्यापार आदिमा फराकिलो हुँदै गयो । तर, संस्थाको धुकधुकीलाई अक्सिजन दिएर कसरी जीवित बनाउने कुनै उपाय सुझेन हामीलाई । आ–आफ्ना व्यवहारका भारीहरु बोकेर बाँचेका हामी आफ्नै बोझले थिचिई सकेका थियौं । संस्था सञ्चालन गर्ने कुरा त्यति सजिलो थिएन । तरपनि केही गर्नुपर्छ भन्ने हुटहुटीका साथमा सुरु गरिएको हाम्रो अभियानलाई यसै मर्न नदिने कुरामा भने हाम्रो सहमति रह्यो । देश तथा विदेशमा रहेका हाम्रा साथीहरुलाई पुनः एकपटक झकझक्याउने भन्ने अठोट गरी नारदजीसित बिदाबारी भएँ ।
दिनभरको समय बिना उद्धेश्य बिताएर घर फर्कने तरखरमा थिएँ । बिहान उर्जाशील अनुहार लिएर काममा गएकाहरु निरास भएर घर फर्कने तयारीमा थिए । आफ्ना सवारीसाधन हुनेहरु बाइक स्कुटरका कान बटार्दै अघि बाटो लागिसकेका थिए । गाडी हुनेको अर्कै फूर्ति थियो । बाँकी मानिसहरु बाटोमा उभिएका थिए, आएका जति सार्वजनिक यातायातलाई हात उठाउँदै यताउता कुद्दै थिए । हामी आम मानिसको जीवन त्यहाँ पनि सहज थिएन । बल्लबल्ल आइपुगेका सार्वजनिक यातायातमा गुन्द्रुक जस्तै खाँदिनु पर्ने । त्यसमाथि सहचालकको गालीले भरिएका शब्दहरु, सित्तै लगिदिने हुन् कि जस्तो व्यवहार । घर फर्किन लागेकाहरुको अनुहार अघिभन्दा अहिले झन् टिठलाग्दो देखिएको थियो । हाकिम र सेवाग्राहीले सातो खाएको अनुहारमा अब सार्वजनिक गाडी नपाउँदा झन् पहेंलिएको थियो । महिला कर्मचारीहरुलाई भान्साले हतार लगाइसकेको थियो शायदः । तुलनात्मक रुपमा महिला कर्मचारी झन् उदास देखिन्थे । उनीहरुको सातो जति अफिसमा थियो, मन जति घरमा थियो । फगत शरीर बाटोमा उभिएको थियो गाडी पर्खेर । मलाई पनि अब घर फर्किनु थियो । माथि उल्लेखित प्रकृयाले मलाई पनि कहाँ छोडेको थियो र ? दिनमा जति नै बरालिन्छु भने पनि साँझ पर्दा नपर्दा आँगनमा उभिन करै लाग्थ्यो मलाई पनि । त्यसैले उही रमिता, उही भीड छिचोल्दै म घर फर्किएँ ।
आज बिना कारण अफिस नगई बरालिएर हिँडेको थिएँ म । त्यस्तो खास कारण पनि थिएन । सधैंको हतारो, सधैंको चटारो र व्यस्त जीवनशैलीले मलाई मेशिन जस्तो बनाएको थियो । त्यसैले आज म बेपर्वाह हिँडेको थिएँ अफिसको दिक्दारीपनलाई बिर्सन । निरस लाग्दो कार्यालयीय वातावरणबाट उम्किएर शान्तिको श्वास फेर्न चाहन्थें म । केही समयलाई भए पनि फुक्का हुन चाहन्थें । सधैं असारको गोरु झैं एकोहोरो जोतिएर काम गरे तापनि सकारात्मक शब्द सुन्न लालायित हुनुपर्ने अवस्थाका बिरुद्धमा मेरो एक दिनको बेवारिसेपना उभिएको थियो । हतारो र चटारोका बीच लक्ष्यविहीन यात्रा गरेर साँझ घर पुग्दा आपूmभित्र केही उर्जा भरिएको महसुस गरें ।
जया बुढाथोकी
इमाडोल,ललितपुर ।