साझा कथा । श्रमिकहरुको सम्मानमा स्टेज परफर्मरका रुपमा परिचित लोकप्रिय गायक दुर्गेश थापाले काठमाडौंमा पहिलो पटक कन्सर्ट गर्ने भएका छन् ।
मे १ अर्थात बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर दुर्गेश थापाले बौद्धस्थित ह्यात होटलको ग्राउन्डमा ग्रान्ड कन्सर्ट गर्न लागेका हुन् । देश तथा विदेशमा हुने विभिन्न मेला तथा महोत्सवमा सबैभन्दा बढी रुचाइएका थापाले काठमाडौंका दर्शकका लागि पहिलो पटक यस्तो खालको कन्सर्ट दिन लागेका हुन् । ट्राइएङल इन्क र अल थ्री मिडिया घरको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको कन्सर्टका लागि टिकट बुकिङ सुरु गरिसकेको छ । कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एप मार्फत खरिद गर्न सकिनेछ । दर्शकहरूले फ्यानपिट, सिल्भर तथा गोल्ड टिकटहरू खरिद् गर्न सकिने बताइएको छ ।
दुर्गेश थापा आफ्नो ऊर्जा र आकर्षक धुनका लागि परिचित छन् । स्टेजमा गएर दर्शकहरुलाई आफू सँगसँगै नचाउन सक्ने खुबीकै कारण उनी संगीत श्रोता र दर्शकमाझ बढी लोकप्रिय छन् । हालको समयमा सर्वाधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरई’बाट लोकप्रियता कमाएका उनले यसअघि पनि कैयौं चर्चित गीतहरु गाइसकेका छन् । हामी पनि नाच्नुपर्छ बीचबीचमा, बमबम भोलेभोले, रातोरातो खुर्सानी पिरोछ, कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा जस्ता गीतहरु युवापुस्ता माझ लोकप्रिय छन् ।
१५ हजार दर्शकका बीच सञ्चालन हुने कन्सर्टमा दुर्गेशले आफ्नो चर्चित गीतहरुको प्रस्तुति दिने बताइएको छ । सँगसँगै लोकप्रिय गायक तथा कलाकारहरुले पनि दुर्गेशको साथमा मनोरञ्जन प्रदान गर्ने बताइएको छ । कन्सर्टको अनलाइन पार्टनरको रुपमा ‘साझा कथा’ रहेको छ ।