साझा कथा । नेशनल प्याब्सन (राष्ट्रिय निजी विद्यालय संघ)ले धुलिखेल घोषणा पत्र जारी गर्दै पहिलो पूर्ण बैठक सम्पन्न गरेको छ ।
चैत्र २० देखि २१ गतेसम्म धुलिखेलको लज रिसोर्टमा सम्पन्न पूर्ण बैठकले देशभरका निजी विद्यालयहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको हितमा ८ बुँदे घोषणा पत्र जारी गरेको हो । जसमा संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै संस्थाको कार्यक्षमता बढाउन १३ वटा विभागीय समितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिने र प्रत्येक विभागले आफ्नो क्षेत्रमा विस्तृत प्रतिवेदन र योजना पेश गर्ने निर्णय गरेको छ । साथै, संघलाई आर्थिक स्वावलम्बन बनाउन तथा शिक्षा नीति र सरकारसँग संवाद गरी निजी विद्यालयहरूको योगदान र भूमिकालाई स्वीकार गराउनेमा पनि संघले जोड दिएको छ । सोही सन्दर्भमा शिक्षा ऐन, कर नीति, अनुदान र गुणस्तरीय शिक्षाका मापदण्डहरूमा संस्थाको स्थान स्पष्ट पार्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

काभ्रे घोषणा पत्रले नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु, विद्यालय र शिक्षक तथा विद्यार्थीहरुको चौतर्फी विकासमा केन्द्रित भई काम गर्ने पनि जनाएको छ । जस अन्तर्गत शिक्षकहरूको पेशागत विकासका लागि प्रशिक्षण, सेमिनार र प्रतियोगिता आयोजना गर्ने, विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने र नवीनतम शिक्षण विधिहरू (जस्तैः डिजिटल लर्निङ) लागू गर्न प्रोत्साहन दिने जनाएको छ । यसैगरि, संस्थाबाट छुट्टिएका वा असंतुष्ट सदस्यहरूलाई पुनः नेशनल प्याब्सनको परिवारमा एकताबद्ध हुन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
८ बुँदे घोषणा पत्र जारी गरेसँगै नेशनल प्याब्सनले घोषणा पत्रमा उल्लेखित बुँदाहरू कार्यान्वयन गर्न पूर्ण प्रतिबद्धता समेत जनाएको छ ।

