Ad Banner

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको गितार महोत्सव हुँदै

साझा कथा । अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका आठ देशका गितार वादकहरुले काठमाडौंमा विशेष प्रस्तुति दिने भएका छन् ।

ग्लोबल म्यूजिक कन्जर्भेटरी र वेभ हस्पिटालिटीको संयुक्त आयोजनामा आगामी जेठ ९ र १० गते हुन लागेको अन्तर्राष्ट्रिय गितार महोत्सवमा जर्मनीका पिए अफरम्यान, अष्ट्रिया/इरानका डुओ जाहेर, लिखटेन्सटाइनका लियोन कौडेलक, थाइलेन्डका वरा उम्पावन, यूएसएका म्याक्स स्टेन्बर्ग, फ्रान्सका एन्टोनी मोरिनेरे र नेपालका तर्फबाट किशोर गुरुङले प्रस्तुति दिनेछन् ।

महोत्सव काठमाडौं वशुन्धरास्थित वेभ हस्पिटालिटीमा हुन लागेको हो । अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन ४ गितारिष्टले प्रस्तुति दिनेछन् ।

महोत्सवमा विभिन्न देशको क्लासिकल म्यूजिकको स्वाद प्रस्तुत गरिनेछ । जसमा संगीतप्रेमी सर्वसाधारणदेखि विशिष्ट अतिथिसँगै विदेशी पाहुनाहरुको पनि उपस्थिति रहने आयोजकको भनाइ छ ।

सात दिनसम्म काठमाडौंमा रहने ख्यातिप्राप्त गितारिष्टहरुले केही दिन संगीतका विद्यार्थीहरुलाई मास्टर क्लाससमेत सञ्चालन गरिने महोत्सव संयोजक किशोर गुरुङले साझा कथालाई बताए । उनले यस किसिमको क्लास नेपालमा गितार सिक्दै गरेका विद्यार्थीहरुलाई विशेष अवसरका रुपमा रहने बताए ।

महोत्सवमा फोकल डिस्टोनियाका कारण १५ वर्षदेखि स्टेज प्रफर्मेन्स नगरेका किशोर गुरुङको समेत प्रस्तुति हेर्न पाइनेछ । उनी यस अघि थुप्रै अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने गितार फेष्टिवलहरुमा भाग लिने गर्थे । सोही सन्दर्भमा उनलाई यूएसएका चर्चित गितारिष्ट माइकल स्टाण्डउडले ‘‘किशोर हृदय भित्रबाट गितार बजाउँछ, जुन कुराले स्रोताहरुलाई प्रभावमा पारेहेको हुन्छ र म त्यही कुरोलाई मन पराउँछु ।’’ भनेर प्रतिकृया दिएका थिए । त्यस्तै, जर्मनीका जाईटुगं डेली पत्रिकाले ‘‘किशोर गुरुङले गितारको आवाजको विभिन्नतालाई त्रुटिरहित र जादुमय ढंगले प्रस्तुत गर्न सफल भए’’ भनेर लेखेको थियो । किशोर स्व. अम्बर गुरुङका जेठा छोरा हुन् ।

 

 

 

यो पढ्नु भयो ?