जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा

रासस, काठमाडौँ — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ मा पार्टी एकीकरण घोषणा हुने भएको छ ।  पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मंगलबार बोलाइएको छ ।  मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचयपत्र लिएर उपस्थित हुन जनमतले नेताहरुलाई सूचीत समेत गरेको छ ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संगठनका सदस्यसहित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो । एकीकरणपछि बन्ने पार्टीको नाम, झन्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरुले बताएका छन् । नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुंगो लागेको छ ।

एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा जनमत पार्टीका अध्यक्ष सिके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सहअध्यक्षमा नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् ।२०७७ सालमा सिके राउत नेतृत्वमा जनमत र २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए । हाल संसद्‌मा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।

यो पढ्नु भयो ?