रासस, मनाङ | मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ। नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा सङ्कलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए । वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समय हो।
नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताए । नार्पाभूमिको नार र फू संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी यस्तो निर्णय गरिएको हो। जिल्लाका अन्य हिमाली भेगमा वैशाखदेखि र नार्पाभूमिमा जेठदेखि मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ।
यार्सागुम्बा सङ्कलनकर्ताबाट सङ्कलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई जिल्लाका भएमा प्रतिव्यक्ति रु २० हजार र जिल्लाबाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति रु ४० हजारका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ । चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबैमा यार्सागुम्बा पाइन्छ। मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फू लेक, मनाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा बढी मात्रामा पाइन्छ।

