यही जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुन गइरहेको सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्।
संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको छ।संवादको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीस्वरुप सरकारले करिब १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको छ।
जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि संवाद लगायत रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन पनि गर्नेछन्।
१.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ। कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल केन्द्रित हुने छ ।

