काठमाडौं । यस वर्षको मनसुन आजबाट देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते मनसुनी वायु सुदूरपश्चिम प्रदेशसम्म फैलिएको जनाएको हो ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष १५ दिन अघि नै मनसुन नेपाल भित्रिएको थियो । विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने पूर्वानुमान छ ।
