काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा झण्डै १८ हजार विद्यार्थीले आवेदन दिएका छन्। देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त भएको महानगरपालिकाले जनाएको छ।
गएको दुई वर्षदेखि महानगरले आफ्नो क्षेत्रभित्रका निजी विद्यालयहरूमा भर्ना हुने कुल संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने व्यवस्था गरेको छ। त्यसका लागि महानगरले नै परीक्षा सञ्चालन गरी प्रतिस्पर्धाका आधारमा विद्यार्थी सिफारिस गर्छ।
आवेदन दिएकामध्ये १७ हजार २२९ जना विद्यार्थीले साउन ३ गते हुने परीक्षामा सहभागी हुन पाउनेछन्। यसपालि कम्तीमा ३ हजार ५०० विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने अनुमान महानगरले गरेको छ।

