साझाकथा, काठमाडौं । भदौ २४ गतेको प्रदर्शन क्रममा एनसेलको लैनचौरस्थित मुख्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटमा संम्लग्न दोषीहरूको पहिचान गरी कारबाही गर्न र लुटिएका सामान फिर्ता गराउनुका साथै सम्पत्तिको क्षतिपूर्ति भराइदिन भाद्र ३० गते सोमबार प्रहरीमा सिसिटिभी भिडिओसहित उजुरी दिएको छ।
भदौ २४ गते मंगलबार कार्यालयमा सुरक्षा गार्ड र केही प्रशासनका कर्मचारी गरी १०–१५ जना मात्र थिए। दिउँसो २ बजेपछि प्रदर्शनकारीको आवरणमा केही व्यक्ति आए र एनसेल कार्यालयमा आक्रमण गरे। आक्रमणकारीहरूले पहिले कम्पनीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूलाई डर देखाए। धम्क्याए। अनि उनीहरूलाई एउटा कोठामा थुनेर भवनमा तोडफोड र आगजनी सुरू गरे एनसेलका एक उच्च अधिकारीले भने।
उनीहरूले सुरूमा भवनको अगाडिपट्टिको सिसा फुटाए र भित्र प्रवेश गरे। भुइँ तलामा रहेको ग्राहक सेवा केन्द्र र रिसेप्सन क्षेत्रमा तोडफोड गरी आगो लगाए। त्यसपछि उनीहरू हरेक तलामा पसेर कार्यालयका सम्पूर्ण सामानहरू तोडफोड गर्न थाले। कम्पनीका महत्त्वपूर्ण कागजातहरू, जस्तै प्रमाणपत्र, अनुमतिपत्र र जग्गाधनी प्रमाणपुर्जा जलाएर नष्ट गरियो। साथै, कार्यालयमा रहेका कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन र कफी मेसिनजस्ता विद्युतीय सामग्रीहरू लुटियो। कर्मचारीहरूका सामान पनि लगे।
आक्रमणकारीहरूले कर्मचारीका लकर फोडेर ल्यापटप, गहना र अन्य व्यक्तिगत सामान डकैती गरेर लगे। कर्मचारीहरू आफ्ना सामान गुमेकोमा निकै दुःखी छन्,ु ती अधिकारीले भने। दिउँसो तोडफोड र आगजनी गरेर गएका आक्रमणकारीहरू साँझ फेरि आए। यसपटक उनीहरू झन् धेरै र आक्रामक रूपमा आएको स्थानीयहरूले बताएका छन्।
एनसेलका अनुसार उनीहरूले भूमिगत पार्किङबाट कम्पनीका र भाडामा लिएका गाडीहरूको साँचो नियन्त्रणमा लिए। गाडीहरू बाहिर ल्याएर जलाए। कम्पनीका कर्मचारीका गाडीहरू समेत तोडफोड गरी आगो लगाए।एक स्थानीयका अनुसार साँझ ५ बजेपछि आएका आक्रमणकारीहरूले राति १० बजेसम्म धेरै विध्वंस मच्चाए। यस क्रममा उनीहरू चोरी र डकैतीमा पनि संलग्न भए।
हाल कम्पनीले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम गर्न निर्देशन दिएको छ। लगानीकर्ताहरूको तर्फबाट उच्च व्यवस्थापनले सबै कर्मचारीको नाममा एक इमेल पठाएको छ। त्यसमा कम्पनी फेरि उठ्ने र नेपालको डिजिटल विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न प्रोत्साहित गरिएको एनसेलले जनाएको छ।