साझाकथा संवाददाता
काठमाडौं, मंसिर १३
काठमाडौंको कोेटेश्वरस्थित सहयोगीनगरमा निर्माण गरिएको राधाकृष्ण मन्दिरको रिडि पीठाधीश स्वामी जगदिश प्रपन्नले उद्घाटन गरेका छन् ।
विशेषः आध्यात्मिक समारोहमा गरिएको उद्घाटनमा प्रपन्नले मानव जीवनको एक मात्र सार भगवत प्राप्ति भएको बताए । स्वामी प्रपन्नले शास्वत शान्ति र आनन्द भगवत सेवाबाट प्राप्त गर्न सकिने उनको भनाइ छ ।
कामनपा ३२ का वडासदस्य हिरादेवी पोख्रेल, स्थानीय समाजसेवीहरु सुरेशप्रकाश आचार्य, हरि गौतम, ध्रुव खड्का, इन्दु सापकोटालगायतले सनातन धर्म संस्कृति, समाजसेवा तथा श्री राधाकृष्ण भक्तिका विविध आयामबारे बोलेका थिए ।
राधाकृष्णको मन्दिर तथा प्रतिमा निर्माण, चतुर्मासलगायत कार्यमा विशेषः योगदान पु¥याउने तीन दर्जनभन्दा बढीलाई सम्मान गरिएको थियो । समाज, सहयोगीनगरभित्रका ८ वटा विभिन्न टोल समिति र उपसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मातृका पूजा, नान्यमुखी (आभ्युदयिक) श्राद्ध, तिलार्चन्, यज्ञ, हवन, दानदक्षिणा र प्रसाद वितरण गरिएको थियो ।
समाजका सल्लाहकार समितिका संयोजक प्रा. कुलप्रसाद पराजुलीले समग्र कार्यक्रमको समन्वय गर्नुका साथै यस किसिमका धार्मिक कार्यले समाजलाई आपसमा जोड्ने बनाए ।
समाजका अध्यक्ष कृष्णप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष चन्द्रकला पराजुलीले स्वागत मन्तव्य दिएकी थिइन् । संगीत साधक गणेश योगीले भक्ति संगीत र मुकुन्द अर्यालले भक्ति कविता प्रस्तुत गरेका थिए ।