नारदमणि बास्तोला । साझाकथा
नेपालमा उच्च हिमशृंखला धेरै छन् । यहाँका भेषभूषा, रहनसहन, भाषा–संस्कृतिको विविधाता धेरै छ । हावापानी हरियाली जंगली दृष्य र थरी थरीका फूलहरू फुलेका हुन्छन् । ताल कुण्डको बेग्लै दृश्य हेर्न पाइन्छ । जैविक विविधता अर्को आकर्षण हो ।
हिमालतिर बेग्लै मजा
सहरको जस्तो सदैव ब्यस्त दैनिकी हुँदैन । स्वच्छ हावापानी, ताजा परिकारका खानपिन पाइन्छ । सोलुखुम्बुका साङ्गे शेर्पा भन्छन्, ‘हिमाली दृष्य हेरेर बस्नुको मजा बैग्लै छ । बिहान उठ्नेबित्तिकै ओछ्यानबाट हिमाल छ्याङग देखिन्छ ।’
शेर्पा भन्छन्, ‘चौरीको दुध, याक, चिज, छुर्पी, फापरको रोटी, करु, आलु, सागपात, जंगली च्याउ अर्गानिक पाइन्छन् भने टे«किङको सिजनमा मनग्य कमाइ हुन्छ ।’ केही समयको कमाइले बाँकी महिना चल्ने हुनाले अर्कै आनन्द हुने उनको भनाइ छ ।
स्थानीय ताजा तरकारी तथा खानाका परिकार रुचाउने विदेशीहरू धेरै संख्यामा आउने गरेको लाङटाङका ग्याल्बु लामा सुनाउँछन् । उनी भन्छन्, ‘यहाँ आउने विदेशी तथा स्वदेशी पाहुना हामीले तयार गरेर दिएको खानामा रमाउने गर्दछन् । बिहान भुक्तानी गरेर धन्यवाद भनेर बिदा हुँदाको मजा बेग्लै छ ।’
‘कहिले त मेनुमा राखिएको परिकार खान नपाएका विदेशीहरू पनि हुन्छन् तर पनि खिन्न मन गर्दैनन् । उनीहरूको मुख्य ध्येय हिमाली दृश्य हो’, लामा थप्छन् । पर्यटक आउने मौसममा राम्रै कमाइ हुन्छ । हिउँ परेपछि वरिपरि डाँडापाखा सेताम्मे हुन्छ । हिउँ हेर्ने र खेल्नेको भीड लाग्छ । त्यसबेला धेरै रमाइलो हुन्छ ।
विकटले कष्टकर पनि
बाटोघाटो छैन । स्याफ्रुबेशीबाट लाङटाङका लागि ग्याँस तथा दैनिक उपभोग्य बस्तु बोकेर ल्याउनुपर्ने हुन्छ । बिरामी भए हेलिकोप्टर नै चार्टर गर्नु पर्छ । लाङटाङका नेगी लामा भन्छन्, ‘धेरै चिसो हुन्छ, हिउँ पर्ने समयमा पानी जम्छ । त्यही हिउँ पगालेर पिउनु पर्छ । दुई महिना कष्टकर दैनिकी हुन्छ । आगो ताप्नका लागि निकुञ्जले दाउरा प्रयोग गर्न दिँंदैन ।’
मजासँगै जोखिम
वर्षात्को समयमा हिमालबाट ढुुंगा खस्ने जोखिम हुन्छ । असारदेखि भदौसम्म यात्रा गर्न सहज हुँदैन । कहिले त हिउँपहिरो खस्ने डर पनि हुन्छ । हिउँ पर्ने समयमा पशुपालनमा पनि समस्या हुने किसान जाङ्वा शेर्पा सुनाउँछन् ।
शेर्पा हिमाली जनजीवनको मजा सुविधासम्पन्न सहर, राजधानी वा महानगरमा समेत नहुने दाबी गर्छन् । भन्छन्, ‘सुकाएर राखेको स्टक घाँस हुन्छ । कुनै दिन त चौरीगाईको बथान बाहिर निस्कनै सक्दैनन् । ढुटो, पिठो र खोले पानी दिएर बचाउनु पर्छ ।’
हिमाली भेगमा रहेका मानिस भौगोलिक विविधताका कारण अनेक जोखिम मोल्नु पर्दाको पीडा पनि एकदमै पृथक हुने बताउँछन् । सडक, सवारी साधन, स्वास्थ्य र शिक्षामा सबैभन्दा बढी पीडा र जोखिम हुने उनीहरूको भनाइ छ ।