काठमाडाैं, पुस ११
अबको राष्ट्रपति र सभामुख को बन्लान् ? सर्वाधिक चासो अब यसतर्फ मोडिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति भए पनि व्यक्ति र पद भने टुंगो लागेको छैन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको वार्तामा यस्तो सहमति जुटेको हो ।
एक महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल पूरा हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति बनेको थियो ।
खासगरि मुलुकको सर्वोच्च पदमा को पुग्ने भन्नेमा धेरैमा चासो छ । राष्ट्रपति एमालेले लिने भने पनि को बन्छ भन्नेमा टुंगो नलागेकाले चारैतिर आकलन सुरु भएको हो ।
प्रधानमन्त्री नियुक्तपछि राष्ट्रपतिमा सुवास नेम्वाङ, अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्यको सम्भावना भएको अनुमान बजारमा छ । सभामुखमा भने यसरी नाम तोकेर चर्चा खासै भएको छैन ।
प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ । सहमति अनुसार पालोमा माओवादीले सभामुख पाउने देखिन्छ । तर को सभामुख बन्ला हेर्न बाँकी छ ।