‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ डिजिटल पुस्तक सार्वजनिक

काठमाडाै, पुस २०

राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो ।

यो पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्याङ्क कार्यालय, विकासका लागि तथ्याङ्क कार्यक्रम, द एशिया फाउण्डेशन र नेपाल इन डाटाले संयुक्त रुपमा तयार पारेको हो ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सही तथ्याङ्क प्राप्ति र त्यसको विश्लेषणमा ठूलो खाडल महशुस भएपछि यो डिजिटल पुस्तक प्रकाशनमा ल्याइएको बताउनुभयो ।

सबै नीति तथा योजना निर्माणको आधार तथ्याङ्क भएकाले यसको विश्लेषण तथ्यपूरक हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । “तथ्याङ्कको प्रस्तुती कसरी गर्ने भनेर स्पष्ट पार्न यो प्रकाशन ल्याइएको हो ।

तथ्याङ्कको परिभाषादेखि यसको सङ्कलन, प्रशोधन, ब्याख्या, र विश्लेषण विधिसम्म समेटिएकाले यो एउटा महत्वपूर्ण पुस्तक हो भन्ने मलाई लागेको छ ।”, सचिव भण्डारीले भन्नुभयो ।

पुस्तक सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव नेबिल लाल श्रेष्ठले आर्थिक क्षेत्रसँग जोडिएका हरेक तथ्याङ्कको परिभाषासहितको एकीकृत जानकारी पाउने गरी यो प्रकाशन तयार पारिएको बताउनुभयो ।

त्यस्तै, नीति निर्माता, अध्ययन–अनुसन्धान कर्ता, सार्वजनिक निकाय, पत्रकारिता क्षेत्र, शैक्षिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा तथ्याङ्कको गलत विश्लेषण नहोस् भन्ने उद्देश्य राखेर यो पुस्तक तयार पारिएको पनि उहाँको भनाइ छ ।

“तथ्याङ्कको सही प्रयोग होस् र गलत ब्याख्या नहोस् भनेर यो प्रकाशन ल्याइएको हो । सबै तथ्याङ्कसँग कुनै कथा लुकेको हुन्छ । हामीले प्रयोग गरिरहेको तथ्याङ्क उत्पादन कसरी भयो ? त्यसको विधि के हो ? त्यसको अवधारणा र परिभाषाबारे स्पष्ट हुन जरुरी छ ।”, उहाँले भन्नुभयो ।

जुनसुकै नीति निर्माणका लागि प्रयोग हुने तथ्याङ्कको अवधारणा र परिभाषा बुझ्न सकेमा मात्रै हामीले प्रयोग गरेको तथ्याङ्क प्रभावकारी हुने श्रेष्ठको भनाइ छ ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?