Ad Banner

लालपुर्जा पाएपछि तिलाेत्तमाका किसान खुसी

रुपन्देही, पुस २३

तिलोत्तमा नगरपालिकामा एक सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ। ७० वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाएपछि किसानहरू खुसी भएका छन् ।

उनीहरूले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा पेशा, व्यवसाय तथा छोराछोरीको अध्ययनका लागि ऋण लिन समेत नपाएर समस्या थियाे ।  वडा नम्बर १५ का ३५ र वडा नम्बर १७ का ७५ गरी १ सय १० घरधुरीलाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरदेवी चौधरीले पुर्जा वितरण गरेका हुन ।

७० वर्षदेखि भोगचलन गर्दै आएका भूमिहीनहरूले हालसम्म पनि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका थिएनन् । लालपुर्जा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणँले जग्गाधनी पुर्जा वितरण गर्नु खुसीको कुरा भएको बताए ।

एक पुस्ता बितिसक्दा समेत लालपुर्जा नपाएका भूमिहीनहरूको लागि खुसीको कुरा भएको उनले बताए । व्यवसाय गर्न ऋण लिन, विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि समेत लालपुर्जाले अव सहज हुने उनले उल्लेख गरे ।

नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीव यादवले तिलोत्तमा-१५ मा ३५ घरधुरी र वडा नम्बर १७ का ७५ घरधुरीलाई गाउँ ब्लक अन्तर्गतको लालपुर्जा वितरण गरिएको बताए । रुपन्देहीमा १ हजार ८ सय ५० र गाउँ ब्लक रहेकोमा अहिलेसम्म ६ सय ब्लकमा काम सकिएको छ ।

नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले लालपुर्जा वितरणले स्थानीयमा खुसी छाएको बताइन् । जग्गा धनी पुर्जा दिन बाँकी १३ सय ५० गाउँ ब्लकमा विभिन्न चरणमा काम भइरहेको बताउँदै उनले लालपुर्जा नभएको क्षेत्रमा प्रक्रिया पूरा गरी वितरण गरिने बताए ।

 

यो पढ्नु भयो ?