साझा कथा । गोरखा भूकम्प भएको ८ बर्ष वितेको छ । तर गोरखा भूकम्पको स्मरण सबैको मानसपटलमा अझै ताजै छ । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको भूकम्प गएको थियो । सो भूकम्पका कारण झण्डै १० हजार व्यक्तिले ज्यान गुमाएका थिए भने १० लाख घरहरु भत्किएका थिए । आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ ।
भूकम्पको केन्द्रविन्दु बारपाकमा सुलीकोट गाउँपालिकाको आयोजनामा भूकम्प स्मृति समारोह आयोजना हुँदैछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट हुने क्षति न्यूनीकरणका विषयमा दुईदिने कार्यशाला आयोजना गरेको छ ।
भूकम्पको केन्द्रविन्दु बारपाक काठमाडौँबाट ८० किलोमिटर उत्तर–पश्चिममा पर्छ । यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।
यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो । उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो ।
भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२ः३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर छ दशमलव छ रेक्टरस्केलको कडा परकम्पन गएको थियो । भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए । पुनश्चः बैशाख २९ गते दोलखाको सुनखानीलाई केन्द्रविन्दु बनाएर गएको छ दशमलव नौ रेक्टरस्केलको परकम्पले सिन्धुपाल्चोक र दोलखा क्षेत्रमा अकल्पनीय विनास गर्यो ।
भूकम्प र त्यसपछिका ठूला पराकम्पनसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौँ परकम्पन एवं हजारौँको सङ्ख्यामा अरु स–साना परकम्पनले नेपालको मध्यभागलाई कम्पित र त्रसित तुल्याएको थियो । त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो । त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ ।
सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी त्यसमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य करिब–करिब सकेको छ तर केहि घरहरु अझै बन्न बाँकी छ । बाँकी भएका काम सम्बन्धित मन्त्रालयलाई जिम्मा दिएर प्राधिकरण खारेज गरिएको थियो । पुनर्निर्माण प्राधिकरणका केहि बाँकी काम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहत आएका छन् ।
कसरी बन्यो नेपाल र किन जान्छ भूकम्प ?
नेपाल भूकम्पीय दृष्टिले विश्वमै ११ औँ जोखिमयुक्त देश हो । काठमाडौं उपत्यका जोखिमका हिसाबले अझ बढी संवेदनशील स्थान हो । नेपालको भूगोल बन्नुमा नै भू–हलचल नै कारण भएको वैज्ञानिक तथ्य भेटिन्छ । वैज्ञानिकहरुका अनुसार अर्बौ बर्ष पहिले पृथ्वीको सतहको भूभाग अहिलेजस्तो थिएन । एकातिर पानी र अर्कोतिर जमिन थियो । पृथ्वीको भित्री सतहमा रहेको तातो लाभाका कारण माथि रहेको भू–चाक्लाहरुमा हलचल हुन्छ । त्यहि कारण एकैठाउँमा रहेको भूसतह (माटोका चाक्ला र चट्टानहरु) छरिएर बसे । ती भू–चाक्लाहरु कतै छरिने र कतै जोडिने क्रममा भारतीय प्लेट (चाक्ला) र युरेसियन चाक्ला (चाइनिज प्लेट) आपसमा जोडिए जहाँ अहिले नेपाल लगायतका मुलुकको भूभाग पर्छ । दुईवटा भू–चाक्ला जोडिएका कारण अफगानिस्तानदेखि म्यानमारसम्मको माथिल्लो भाग माथि उठेर हिमालय पर्वत र पहाडहरु बनेका हुन् ।
भारतीय प्लेट आकारमा सानो भएको हुनाले हरेक बर्ष २ इन्चका दरले युरेसियन प्लेटको मुनि घुसिरहेको वैज्ञानिकहरुको दाबी छ । भारतीय प्लेट घुस्ने क्रममा दुई प्लेटबीचको घर्षणका कारण भू-सतह मुनि शक्ति संचित हुने र बेला-बेला सो शक्ति भूकम्पको धक्काको रुपमा बाहिर निस्कने गरेको हो ।
