साझा कथा । तराई भेगमा अत्याधिक गर्मी बढेसँगै विद्यालयहरु धमाधम बन्द गर्न थालिएको छ । गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विद्यालयहरु बन्द गरिएको हो ।
झापाको मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।
त्यस्तै, गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाले पनि दुई दिनका लागि भनेर विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिका र उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् ।
अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर भरेको भन्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।
नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।
