नेपाल पर्यटन बोर्डले १ अर्ब ५९ करोडको बजेट पारित

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको ऐतिहासिक बजेट पारित गरेको छ।
कार्यकारी समितिको असार ३१ गते बसेको बैठकले समयमै बजेट स्वीकृत गर्दै आगामी वर्षका लागि महत्वाकांक्षी योजना सार्वजनिक गरेको र यसले बजेटको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यस ऐतिहासिक बजेट समयमै पारित गर्न सफल भएको र यो बजेट केवल रकमको लेखाजोखा मात्र होइन, नयाँ युगको प्रतिबद्धता भएको बताए ।

के के छन्  प्राथमिकताहरू
बोर्डको कुल बजेटको सत्तरी प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरण र प्रवर्द्धनमा राखी विभिन्न कार्यक्रम र रणनीतिमा विशेष प्राथमिकता दिइएको छ। पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धन ९४३.६१ करोड, जनसम्पर्क तथा प्रचार प्रसार ९१२.९५ करोड, अनुसन्धान तथा योजना ९२.६७ करोड, र पर्यटन सम्पदा विकास ९१८.६३ करोड जस्ता प्रमुख कार्यहरू छन्। त्यसैगरी, नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालनका लागि ११ करोड १२ लाख र विशेष प्रवर्द्धनात्मक कार्यक्रमका लागि ४ करोड ६२ लाख विनियोजन गरिएको छ।
अन्तर्राष्ट्रिय मेलामहोत्सव, सेल्स मिसन, डिजिटल मिडिया अभियान, सिने टुरिज्म, डायस्पोरा कनेक्ट, ब्रान्डिङ, र प्रभावशाली कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने छ। युरोप, अमेरिका, भारत, चीन, जापान, थाइल्याण्ड, भियतनाम लगायत विश्वभरका प्रमुख पर्यटन बजार लक्षित गरी ‘नेपाली गन्तव्य प्रवर्द्धन गरिनेछ।
प्रवर्द्धनका अभियानहरुलाई प्रभावकारी बनाउन भारतमा बोर्डको कार्यालय खोल्नलाई समेत तयारी यो वर्ष गरिनेछ ।

बोर्डले युरोप, अमेरिका, भारत, चीन, जापान, थाइल्याण्ड, भियतनाम लगायतका प्रमुख अन्तर्राष्ट्रिय बजारहरूलाई लक्षित गर्दै पर्यटन मेलाहरू, सेल्स मिसन, डिजिटल मिडिया अभियान, इत्त् सहकार्य, सिने टुरिज्म र डायस्पोरा कनेक्ट कार्यक्रमहरू सञ्चालन गर्नेछ। नेपाली गन्तव्यहरूलाई विश्व बजारमा सशक्त रूपमा प्रस्तुत गर्न अन्तर्राष्ट्रिय ब्रान्डिङमा विशेष ध्यान दिइएको छ।

भौतिक पूर्वाधार निर्माण, पदमार्गको सुधार, नमस्ते सेन्टर स्थापना, बौद्ध गन्तव्य प्रवर्द्धन, पर्वतीय क्षेत्रका लागि तालिम, ग्रीन हस्पिटालिटी प्रमाणीकरण, घरेलु पर्यटन प्रवर्द्धन, पर्यटन टुर अपरेटर तालिम, भाषा र डिजिटल सीप सम्बन्धी तालिम लगायत कार्यक्रममार्फत गन्तव्य विकास र स्थानीय सशक्तिकरणलाई बलियो बनाउने उद्देश्य लिइएको छ। मिथिला कला, प्याराग्लाइडिङ प्रतियोगिता, हात्ती महोत्सव, पर्वतीय र जंगल सफारी जस्ता सांस्कृतिक तथा साहसिक गन्तव्यहरूलाई पनि बजेटमार्फत प्रवर्द्धन गरिनेछ।

पोखरा कार्यालयमार्फत पोखरा ट्राभल मार्ट, सडक महोत्सव, अन्नपूर्ण तथा मानस्लु पदमार्ग प्रवर्द्धन, पर्यटक प्रहरी तालिम, बेसिक तथा एडभान्स क्यानियोनिङ तालिम र पर्वतीय संग्रहालय प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरिनेछ। भारत, चीन र दक्षिण एसियाली मुलुकहरूमा पनि आक्रामक प्रचार कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

यस वर्ष बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एडभेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम, र सफारी टुरिज्म मार्ट जस्ता विशेष प्रवर्द्धनात्मक कार्यक्रमहरूको सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरिएको छ।

यो पढ्नु भयो ?