हिउँद सुरु भएसँगै वनभोज खानेको लर्को

२०७९ मंसिर २१, बुधबार
सिन्धुलीगढी, मंसिर २१ 

सिन्धुली जिल्लाका विभिन्न ठाउँमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमा हिउँदे मौसम सुरुसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ ।

जिल्लाका ऐतिहासिक तथा धार्मिक स्थल सिन्धुलीगढी, पञ्चकन्या पोखरी, माईस्थान, हरिहरपुरगढी, माईस्थान शिरलगायतका ठाउँमा वनभोज खान आउनेको लर्को लाग्दै गएको छ ।

पूर्वाधार विकास निर्माणसँगै यातायात सुविधा भएकाले पछिल्लो समय त्यस्ता ठाउँमा वनभोज खान आउनेको लर्को लाग्दै गएको स्थानीयले बताएका छन् ।

कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा अहिले दैनिकजसो वनभोज खान आउनेको भीड लागेको स्थानीय घनश्याम मगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समयमा सिन्धुलीगढीमा निर्माण भएको युद्ध सङ्ग्रहालय र रानीदरबारले वनभोज खान आउनेलाई आकर्षित गरेको छ ।

कुनै दिन त नौ/दसवटा समूह वनभोज खान आउने गरेका छन् ।” गढी क्षेत्रमा चारवटा व्यवस्थित वनभोज स्थल निर्माण गरिएका छन् । गढी परिसरका सबै वनभोज स्थलमा पानीको सुविधा पु-याइएको छ ।

मनोरम दृश्य हेर्न सकिने तथा व्यवस्थित बनेकाले गढीपरिसर वनभोजका लागि आकर्षक थलो बनेको उहाँको भनाइ छ । नेपाल सरकारले घोषणा गरेको नयाँ पर्यटक गन्तव् मध्येको एक ऐतिहासिक सिन्धुलीगढीमा पूर्वाधार निर्माणले समेत गति लिँदै गएको नगरपालिकाले जनाएको छ ।

वनभोज खान आउनेलाई ध्यानमा राखी खानेपानी, शौचालय र प्रतीक्षालय निर्माण गरिएको छ । पिकनिक खान आउने एउटा समूहसँग तीन सय रुपियाँ सेवा शुल्क लिई सेवा उपलब्ध गराउँदै आएको पनि नगरपालिकाले जनाएको छ ।

त्यस्तै सिन्धुली जिल्लाको प्रसिद्ध धार्मिक स्थल माईस्थानमा पनि हिउँद मौसमसँगै  वनभोज खान आउनेको चाप बढ्दै गएको छ । बीपी राजमार्ग निर्माणसँगै यातायात सुविधा पुगेपछि तराईका जिल्लाबाट समेत माईस्थानमा वनभोज खान आउने बढ्दै गएका स्थानीयवासी विजय श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “दैनिक १०/१२ टोली पिकनिक खान नआएको दिन हँुदैन । कहिले त पिकनिक खान आउनेले बगर नै छपक्कै ढोकेका हुन्छन् ।” कमला नदी र गौमती नदीको दोभानमा रहेको कमलामाई मन्दिरमा प्रत्येक वर्ष माघेसङ्क्रान्तिका दिन ठूलो मेला लाग्दै आएको जानकारी उहाँले दिनुभयो ।

भक्तजनले कमलामाई मन्दिर दर्शनसँगै पाठी ल्याएर बलि दिने र कतिपय पिकनिक खाएर रमाइलो गरी फर्किने गरेका छन् । यातायातको सुविधा भएको र पवित्र धार्किक स्थल भएकाले पछिल्लो समय तराईका जिल्लाका मानिसको रोजाइमा समेत माईस्थान परेको छ ।

उक्त मन्दिरको शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले भक्तजनको आस्था बढेको हो । कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो रहेको स्थानीयवासी बताउँछन् ।

गाेरखापत्रबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?