साझाकथा संवाददाता
नुवाकोट, मंसिर २६
नेपाल पत्रकार महासंघ नुवाकोटको ११औं साधारणसभामा पत्रकार दिनेश आचार्य समेत चार पत्रकार सम्मानित भएका छन् ।
सोमबार बिदुरमा भएको सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार आचार्यलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी दीर्घ सेवा सम्मानबाट सम्मानित गरेका हुन् ।
पत्रकार आचार्य २०५४ सालमा नेपाल वाणी साप्ताहिकको समाचारदाताको रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको आबद्धतासंगै हाल शेयर बजार साप्ताहिकको सम्पादकका रुपमा कार्यरत रहेका छन् ।
साधारणसभाको अवसरमा पत्रकारहरू मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका जिल्ला प्रतिनिधि राजकृष्ण श्रेष्ठ, पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी र महिला पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका संवाददाता संगीता पनेरु पुरस्कृत भएकी छिन् ।
पत्रकार श्रेष्ठ २०६० सालदेखि कान्तिपुर टेलिभिजनको जिल्ला प्रतिनिधिको रुपमा कार्य गर्दै आईरहेका छन् । पत्रकार अधिकारी दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथामा २०५२ सालमा स्वंमसेवी रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरी ०६४ सालमा नुवाकोट जिल्लामा पहिलो पटक एफएम रेडियो स्थापना गरेर स्टेशन म्यानेजरको रुपमा कार्य गर्दै आईरहेका छन् ।
पत्रकार पनेरु २०६९ सालमा हिमाल एफएम सोलुखुम्बुबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरि विभिन्न राष्ट्रिय सञ्चार माध्यामहरुमा कार्य गरी नयाँ पत्रिकामा संवाददाताको रुपमा कार्य गर्दै आईरहेकी छिन् ।
पुरस्कृत तीन वटै पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ । पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य डबलीखबर डटकमले गरेको छ ।
यस्तै, विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र नुवाकोट पुकार साप्ताहिकले महिला पत्रकारिता पुरस्कारको सौजन्य गरेको थियो ।

तपाईको विचार
0 प्रतिक्रिया