भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग   

बेलहिया (रुपन्देही), पुस १७ 

नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ ।

नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको अगुवाइमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा त्यहाँ कार्यरत कर्मचारीलाई नेपाली ढाका टोपी लगाइदिएर उडान नियमित गर्न सबैलाई सहकार्यको लागि आह्वान गरिएको थियो ।

कर्मचारीलाई टोपी लगाउँदै अध्यक्ष पन्तले भन्नुभयो, “जसरी शिरको शान ढाका टोपी रहेको छ, त्यसैगरी लुम्बिनी प्रदेशवासी र नेपालका सबै पर्यटन व्यवसायीका लागि गौतमबुद्ध विमानस्थल शान र मान हो”, उहाँले भन्नुभयो, “यसको गरिमा बढाउने भनेको यहाँबाट अन्तर्राष्ट्रिय जहाजको उडान निरन्तरताको लागि कर्मचारीको पनि सक्रियता र सकारात्मक सहयोग जरुरी छ ।”

कार्यक्रममा पर्यटन व्यवसायी सागर अधिकारीले कुनै पनि बहानामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न नहुने बताउँदै कटौती गरेमा सबै लुम्बिनीवासीले आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो ।

पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विष्णुप्रसाद शर्माले ४० अर्ब भन्दा बढी लगानी विमानस्थलमा भएको र सय अर्ब भन्दा बढी निजी क्षेत्रको लगानी भैरहवा आसपासमा भइरहेको बताउनुभयो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सात महिनाको अवधिमा ३१ हजार छ सय १८ यात्रुले सेवा लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी गराउनुभएको छ ।

गत जेठ २ गते देखि पुस ३ गते सम्म सात महिनाको अवधिमा एक सय ५४ वटा उडान र अवतरण भएको उहाँले जानकारी दिनुभयो । यतिबेला अल जजिरा एअरलायन्सले उडान कटौती गरेको छ । हिमालय एअरलायन्सले पनि उडान रोकेको छ ।

अर्कोतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक उडानसमेत प्रभावित हँुदै आएको छ । यद्यपि यो समस्यालाई निराकर गर्ने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जोडिएको भए तापनि उक्त उपकरण सञ्चालन नहुँदा समस्या सिर्जना भएको छ ।

पर्यटन व्यवसायीले आइएलएस तत्काल सञ्चालन गर्न माग गरेका छन् । उडानका लागि कम्तीमा एक हजार पाँच सयको हाराहारीमा भिजिविलिटी आवश्यक पर्छ तर यतिबेला चार ÷पाँच सयको हाराहारीमा भिजिबिलिटी पुग्दा बेला बेला उडान प्रभावित हुने गरेको छ ।

राससबाट

यो पढ्नु भयो ?