आफन्तलाई राजदुत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियोः सांसदहरु

साझा कथा । परराष्ट्र सम्बन्धमा विषयमा नेपालले अझै प्रभावकारी कदम चाल्न नसकिरहेको सन्दर्भमा जननिर्वाचित सांसदहरुले राजनैतिक दलका आफन्तहरु राजदुत भएर जाँदा वैदेशिक सम्बन्ध झन् विग्रिएको आरोप लगाएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधानका लागि त्यहाँका राजदुतहरुले प्रभावकारी काम गर्न नसकेको भन्दै सांसदहरुले कुटनीति नजानेका व्यक्तिहरु राजदुत हुँदा समस्या बल्झिएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले वैदेशिक रोजगारीमा गएकाहरुको निधन हुँदा शव ल्याउन किन ढिलाइ भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरिन् । उनले वैदेशिक रोजगारीमा भएको समस्या छिटो र छरितो ढंगबाट गर्न आग्रह गरिन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले विदेशी लगानी नभित्र्याइकन देशलाई समृद्ध बनाउन नसकिने बताए । वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्याहरु रहेको भन्दै उनले समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिए । उनले एउटा सरकारले गरेका निर्णयहरु अर्को सरकारले तोड्ने गरेकै कारण कतिपय विकास निर्माणका गतिविधिहरुमा समस्या हुने गरेको जिकिर गरे ।

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद दीपा गुरुङले उत्पादन गर्न नसकेसम्म लगानी गर्नसक्ने अवस्था नहुने बताइन् । उनले उत्पादन गर्दा आउने समस्यालाई समाधान गरेर अघि बढ्दै कर्मचारीहरुको पूर्णता दिई कामहरुमा छिटो र छरितो बनाउनुपर्ने बताए । बैठकमा लोकतान्त्रिक समाजावदी पार्टी, नेपालका सांसद शेखरकुमार सिंहले नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भुमिका खेल्नुपर्ने बताए । उनले ४५ वर्ष अगाडि स्थापना गरिएका दुतावासहरुमा जनशक्ति थपेर सबल बनाउनुपर्ने माग गरे ।

बैठकमा नेकपा एमालेका सांसद रामचन्द्र राईले अझैपनि नीतिगत व्यवस्थामा भएका कुराहरुको कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताए । अन्तरमन्त्रालयको समन्वय पर्याप्त हुन नसकेको बताउँदै उनले नीतिले भनेअनुसारको कुटनीतिक सम्बन्ध स्थापना गर्न नसक्दा विदेशी मुलुकसँग नेपालको सम्बन्ध बिस्तार हुन नसकेको बताउनु भयो ।

बैठकमा नेकपा एमालेका सांसद सोनाम गोल्जेन शेर्पाले नेपालको परराष्ट्र कुटनीति धेरै नै कमजोर रहेको बताए । उनले राजदुत नियुक्ति गर्दा कुटनीति जानेका व्यक्ति नभई राजनीतिक दलहरुले आफन्तहरुलाई स्थान दिँदा परराष्ट्र सम्बन्धमा दरार पैदा भएको बताए । उनले कस्तो व्यक्तिलाई राजदुत नियुक्त गर्ने भन्नेबारेमा स्पष्ट कानून बनाउनुपर्ने माग समेत गरे ।

 

यो पढ्नु भयो ?