काठमाडाैं, पुस २५
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।”
सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको उल्लेख गरे ।
संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको बताउँदै उनले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरुपका आवश्यक नीति र कानून बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
“लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ । हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ ।
सबै माननीय साथीमा म हार्दिक अपिल गर्न चाहन्छु कि प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सवलीकरणका लागि विषेश योगदान गर्न सकोस् । हामी सबै यसमा सफल हुन सकौँ”, सभापति देउवाले भने ।
उनले लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनःस्थापना र संरक्षणका लागि जीवन आहुति दिन हुने सम्पूर्ण सहिदमा श्रद्धाञ्जली अर्पण गर्दै देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र वर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैप्रति उच्च सम्मान गर्दै प्रशंसा गरे ।
प्रतिनिधिसभामा निर्वाचित भएर आएका सबै सदस्यलाई बधाई दिँदै उनले पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वदा सफल हुनेछन् भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरे उनले निर्वाचित गर्ने जनताको भावनाअनुरुप काम गर्न सांसदहरूलाई अनुरोधसमेत गर्नुभयो ।
सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई बधाई
सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनुभएकामा बधाई दिँदै उनको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । साथै उनले मन्त्रिपरिषद्मा नवनियुक्त मन्त्रीहरुलाई बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
सभापति देउवाले भने , “आजभन्दा १८ महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमका बीचमा कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए ।
तत्कालीन अवस्थामा संविधानको भावनाबमोजिम प्रतिनिधिसभालाई पूर्ण कार्यकाल कार्यसम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा सम्पन्न गरी देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो ।”
यस कार्यमा तमाम चुनौती र कठिनाइ थिए तापनि प्रतिनिधिसभा पूर्ण कार्यकाल कायम रहेको उल्लेख गर्दै उनले स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भएको र पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज प्रतिनिधिसभाको पहिलो बैठकमा बसी रहँदा आफूलार्ई हर्ष एवं गौरवको अनुभूति भएको बताए ।
आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको बताउँदै सभापति देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो ।
निर्वाचनको प्रयोजनका लागि अन्तर्राष्ट्रिय जगत्बाट प्राप्त सद्भाव र सहयोगका लागिसमेत उनले धन्यवाद दिए ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । उनले कांग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नुहुने देशभित्र र बाहिर रहनुभएका सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद दिए ।
उनले भने, “म सम्पूर्ण दाजुभाई, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईंले दिनुभएको विश्वासमा ठेस लाग्न दिने छैनौँ । कांग्रेस जनताको अपेक्षा र पार्टीका साथीको भावनाअनुसार काम गर्नेछ । हाम्रो असङ्ख्य सहिदको त्याग, तपस्या र बलिदानबाट हामीले प्रेरणा पाएका छौँ ।”
“पार्टीका संस्थापक नेता बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका नेताहरुको मार्गदर्शनले हाम्रो यात्रा निर्देशित छ ।
म सबै नेताहरुको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । म नेपाली कांग्रेसको इतिहासलाई पनि स्मरण गरिरहेको छु”, उनले भने ।
देशमा जुनसुकैबेला जस्तोसुकै समस्या आई परे पनि कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको उल्लेख गर्दै उनले यो सुनौलो इतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिइरहने बताए ।
उनले सहिदको बलिदान, नेताहरुको प्रेरणा र मार्गनिर्देश र साथीहरूको परिश्रम खेर जान नदिईने विश्वास दिलाउँदै सभापति देउवाले नेपालको संविधानको रक्षा र कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सवलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने लक्ष्यमा अविचलितरुपले लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
देश र जनताको बृहत्तर हितमा काम गर्ने उल्लेख गर्दै उहाँले यो प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुने र जनताका जीवनसँग जोडिएका विषयमा विषेश ध्यान दिने बताए ।
राससबाट