माधव नेपाल किन निहुँ खोजिरहेका छन् प्रचण्डसँग ?

साझा कथा टिप्पणी ।

पछिल्लो सयम पत्रपत्रिका, रेडियो टेलिभिजन, अनलाइनहरुमा तपाईँले देखिरहनुभएको छ होला, सुनिरहनुभएको छ होला एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी बनाएका माधव कुमार नेपाल प्रधानमन्त्री प्रचण्डसँग रिसाइरहेका छन् । तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट पीडित हुन थालेपछि प्रचण्ड र माधव नेपालबीच गज्जबको दोस्ती बनेको थियो । एमालेसँगको गठबन्धन भत्काएर काँग्रेससहितको गठबन्धन बनाउन प्रचण्डलाई मनाएका उनै माधव नेपाल अहिले प्रचण्डसँग रिसाइरहेको देख्दा सबै आश्चर्यचकित भएका छन् । कुनै समय एमाले अध्यक्ष ओलीले शेरबहादुर देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर भनेर आरोप लगाएका माधव नेपालको पछिल्लो असन्तुष्टि के मा होला ? आफैँ सरकारमा दुई मन्त्रीसहित सहभागी भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सरकार र प्रचण्डसँग रिसाउनुपर्ने तीन कारण छन् । बाहिर देखिएका तीन कारण भएपनि भित्री कारण भने अनेकौँ छन् ।

पहिलो कारण हो, बजेट । आफ्नै पार्टी सहभागी भएको सरकारले ल्याएको बजेट पारित हुन नदिने अड्डी कसेर बसेका छन् माधवकुमार नेपाल । विना संशोधन बजेट पारित गरिए सरकार छोड्नेसम्मको धम्की दिन थालेका छन् उनले । यहि स्थितिमा बजेट पास गर्न लाग्ने हो सरकार दुर्घटनामा पर्ने चेतावनी समेत उनले दिएका छन् । बजेट संशोधन गर्नुपर्ने उनको माग भएपनि कुन कुन बुँदा सच्याउनुपर्ने हो, त्यो चाँहि स्पष्ट खुलाएका छैनन् नेपालले । बजेटमा देखिएको उनको भित्री असन्तुष्टि चाँहि उनको निर्वाचन क्षेत्रमा अपेक्षा अनुसारको बजेट नपुग्नु हो । प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशसरण महतका जिल्लामा धेरै बजेट खन्याउँदा आफूलाई हेला गरिएको माधव नेपालको बुझाई छ । गठबन्धनको शीर्ष नेता भएपनि बजेट निर्माणमा आफ्नो राय नसुनिएको र आफ्नो क्षेत्रमा कम बजेट पारिएकोमा उनी असन्तुष्ट छन् । साथै आफ्ना दुई मन्त्रीको निर्वाचन क्षेत्रका लागि पनि कम बजेट छुट्याइएकोमा उनको गुनासो छ ।

दोस्रो कारण हो, भारतले आफ्नो नयाँ संसदभित्र बनाएको अखण्ड भारतको मुरलबारे प्रधानमन्त्री प्रचण्ड मौन रहनु । प्रचण्डले अखण्ड भारतको विषयमा सार्वजनिक रुपमा बोलेर वा कुटनीतिक रुपमा पहल गरेर सो विषयमा असन्तुष्टि राख्नुपर्नेमा मौन बसेको भन्दै रिसाएका माधव नेपाल आफैँले भने सो विषयमा खासै चर्चा गरेका छैनन् । स्मरण रहोस्, २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा प्रचण्डले उनलाई भारतको कठपुतली भनेर आरोप लगाएका थिए । व्यक्तिगत रुपमा धेरै कुण्ठा पाल्ने माधव नेपालले त्यो बेलाको रिस अहिले पोखेका पनि हुन सक्छन् ।

प्रचण्डसँग माधव नेपाल रिसाउनुको तेस्रो कारण हो, पशुपतिनाथको दर्शन । प्रधानमन्त्री प्रचण्ड आफूसँग भारत सँगै गएका मन्त्रीहरुलाई मात्रै लिएर केहिदिन अघि पशुपतिनाथको दर्शन गर्न गएका थिए । सायद जीवनमा पहिलोपटक पशुपतिनाथको दर्शन गरेका प्रचण्डको उक्त कदमलाई धेरैले स्वागत पनि गरे । खासगरी भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजा गरेपछि प्रचण्डले पशुपतिनाथ गएर पुजा गर्नुपर्ने आवाज उठेको थियो । त्यहि आवाज सम्बोधन गर्न प्रचण्ड पशुपतिनाथ गएका होलान् तर माधव नेपाललाई भने सह्य भएन । प्रचण्ड चर्चा कमाउन मन्दिर गएको र त्यसले राष्ट्रिय राजनीतिलाई राम्रो नहुने नेपालको तर्क छ ।

सार्वजनिक रुपमा देनिने यी तीन कारण भएपनि भित्री रहस्य भने प्रचण्डले सरकार संचालनका दौरान माधव नेपाललाई भाउ नदिनु हो । माधव नेपाल चाहन्छन्, सरकारका काम कारबाहि र सचिव, सहसचिवहरुको सरुवा बढुवामा आफ्नो पनि राय बुझियोस् तर प्रचण्ड, शेरबहादुर देउवा बाहेक अरुसँग सल्लाह नै नगरी चल्न थालेका छन् । यसमा माधव नेपालको पारो तातिरहेको छ ।

नेकपाकालदेखि आफूले बोक्दै आएका प्रचण्डले अहिले भाउ नदिएपछि आक्रोशित भएका माधव कुमार नेपालले निकटस्थहरुसँग सरकार छोड्नुपर्ने अवस्था आउनसक्ने समेत बताउने गरेका छन् । यसको कारण चाँहि आफ्ना केहि सांसद र नेताहरु एमाले प्रवेश गर्ने डर हो । पछिल्लो समय एकीकृत समाजवादीभित्र एमाले प्रवेश गर्ने र पार्टी फोड्ने कुरा भुसको आगो झैँ सल्किएको छ । एमालेसँग छुट्टिदाँ निक्कै उग्र बनेका झलनाथ खनाल, रामकुमारी झाँक्रीहरु एमाले प्रवेश गर्ने सुँइको पाइरहेका माधव नेपालले अरु नेताहरुलाई रोक्नका लागि सरकारको विरोध गरेजस्तो गर्ने र पालैपालो मन्त्रीहरु परिवर्तन गरेर सबैलाई भाग पुर्याउन चाहन्छन् । त्यसैले उनले सरकार छोड्ने धम्की दिने गरेका हुन् । उनलाई यो पनि थाहा छ, प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादी सरकारबाट बाहिरिँदैमा प्रचण्ड अल्पमतमा पर्दैनन् तर अन्य साना दल पनि बाहिरिने भय भने रहन्छ । प्रचण्डलाई यो मनोवैज्ञानिक दवाव दिएर आफ्नो स्पेस खडा खोजिरहेका छन् माधवकुमार नेपाल ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?