सात्विक भोजन

विपिन कार्की

मंसिर २६

वर्षायाममा हाम्रो पाचनप्रणाली कमजोर र प्रतिरक्षा प्रणाली संवेदनशील हुन्छ । यो मौसममा माछा, मासु र अण्डालाई पच्न निकै समय लाग्छ । साथै शरीरमा ‘मेलाटोनिन’ हर्मोनको मात्रा बढी हुँदा ‘ग्यास्ट्रो इन्टेस्टाइनल’ समस्या जस्तै झाडापखाला, बान्ता, ग्यास्ट्रिक आदि निम्तिन सक्छन् । त्यसैले वर्षामा सहजरूपले पच्न सक्ने हल्का खाना खानुपर्छ ।

हामीले दैनिक खाने आहारमा भएको पोषणतत्वले नै हाम्रो शरीरको बनावट र स्वास्थ्य निर्धारण गर्छ । त्यसकारण स्वच्छ, सफा र सन्तुलित आहारमा विशेष ध्यान दिनुपर्छ । हाम्रो दैनिक खाना मौसम, भूगोल तथा संस्कृतिअनुसार फरक हुन्छ ।

उमेर समूह, लिङ्ग, शरीरको आकार एवं कामको आधारमा शरीरलाई आवश्यक पर्ने क्यालोरीको निर्धारण हुन्छ । मौसम परिवर्तनसँगै उपयुक्त खाद्यपदार्थमा हामीले विशेष सजगता अपनाउनुपर्छ ।

उच्च गर्मीको अन्त्यसँगै वर्षाको आगमन हुँदा हामीले प्रयोग गर्ने खाद्यान्नको सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । वर्षामा हानिकारक ब्याक्टेरिया तथा जीवाणु खाना, पानी, फलफूल, सागसब्जीको माध्यमबाट सक्रिय हुँदै सिधै हाम्रो शरीरमा प्रवेश गर्ने हुनाले प्राणघातक तथा जटिल समस्या जस्तै झाडापखाला, फ्लु, सर्दी, टाइफाइड, हैजा निम्तिन सक्छन् ।

प्रायः हामीले बजारबाट खरिद गरेको हरियो सागसब्जी, फलफूल, माछा–मासु, पानीको माध्यमबाट हानिकारक ब्याक्टेरियाहरूको वृद्धि मनसुनको तापक्रममा अधिक हुने र सक्रिय रहनाले फलफूल एवंसब्जीलाई मनतातो पानीमा कम्तीमा पाँच मिनेट डुबाएर पखाल्नुपर्छ । साथै हरिया सागपातलाई राम्रोसँग सफा गर्नुपर्छ । यसो गर्नाले करिब ५० प्रतिशत फुडबर्न (खानाबाट हुने) रोग नियन्त्रणमा ल्याउन सकिन्छ ।

वर्षामा वाटर बर्न (पानीजन्य रोग) झाडापखाला, डिसेन्ट्री, टाइफाइड, कोलेरालाई नियन्त्रणमा ल्याउन पानीलाई उपयुक्त तापक्रममा उमाल्नाले वाटर बर्नका सक्रिय जीवाणुलाई नियन्त्रण गर्न सकिन्छ । वर्षा सुरु हुनासाथ खानपिनलाई थोरै परिवर्तन गर्न जरुरी हुन्छ । लगभग जाडो मौसम र वर्षा मौसमको खानपान उस्तै हुनुपर्छ ।

स्वास्थ्यलाई ध्यान नदिई बजारमा खुल्ला राखिएका फास्टफुड, पानीपुरी, पकौडा, चटपटे प्रयोग गर्नेको जमात पनि उत्ति नै छ । सकेसम्म घरमै स्वस्थ खाना वा खाजा बनाएर खाने बानी बसाल्नुपर्छ । वर्षामा शरीरलाई न्यानो बनाउने खाद्यान्नमा जोड दिनुपर्छ ।

प्रशस्त मात्रामा भिटामिन ‘सी’ युक्त खानेकुरामा जोड दिनुपर्छ । यसका लागि कागती, अमला, अम्बा, किबी, स्ट्रबेरी, गोलभेंडा आफ्नो थालीमा समावेश गर्नुपर्छ । भिटामिन ‘सी’ले शरीरमा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै छाला स्वस्थ राख्न पनि मद्दत पुर्‍याउँछ ।

भिटामिन ‘डी’युक्त खानेकुरा जस्तो अण्डा, फिस ओयल, चीज, कलेजो पनि रोग प्रतिरक्षाका लागि महत्वपूर्ण मानिन्छन् । भिटामिनको आवश्यकता उमेर समूहको आधारमा निर्धारण गरिएको हुन्छ र यसको आवश्यकता सकेसम्म खाना वा प्राकृतिक रूपमा पदपूर्ति गर्न आवश्यक छ । सप्लिमेन्टको प्रयोग चिकित्सकको अनुमति लिएर मात्र गर्नुपर्छ ।

(विपिन डाइटिसियन हुन्)

नारीबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?