साझा कथा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ’, खनालले भने, ‘पहिलो पटक खेती गरेका हौं, राम्रो उत्पादन भयो ।’
कृषिमा लागिरहेका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गरेका हुन् । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उहाँहरुले सुरु गरेको बगर खेतीमा ३५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको छ ।
चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्छन् । व्यापारीले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन् । निजी सवारी लिएर किन्न आउने ग्राहकको बगरमा भीड लाग्ने गरेको छ । यहाँबाट सस्तोमा किनेर लैजाने व्यापारीले बजारमा मूल्य बढाएर बेच्ने गर्छन् ।
खरबुजा बेचेर ८० लाखदेखि ९० लाखसम्म आम्दानी गर्ने लक्ष्य फार्म सञ्चालक खनालको छ । दैनिक चारदेखि आठ टनसम्म खरबुजा बिक्री भइरहेको उनले जानकारी दिए । उनले भारतबाट सस्तो र कमसल खरबुजा भित्रिएका कारण बजारमा चुनौती थपिएको बताए । खरबुजामा नेपाल आत्मनिर्भर भएको दाबी गर्दै उनले भारतबाट गुणस्तर नजाँची भित्रिने खरबुजालाई भन्सार र क्वारेन्टाइन कार्यालयले कडाइका साथ रोक्नुपर्ने माग गरे ।
कनकाई–५ का फुलु मण्डलले कनकाई नदीको बगरमा तीन बिघा जग्गा भाडामा लिएर खरबुजा खेती गरेका छन् । उनले बगरखेतीमा खरबुजा लगाएको १५ वर्ष भइसकेको छ ।
‘गाडीमा डुलाएर बेच्ने व्यापारीले खरबुजा लैजाने गरेका छन्’, मण्डलले भने, ‘तीन बिघामा खरबुजा लगाउन १२ लाख लगानी गरेको छु ।’ खरबुजा बेच्न आफैले उर्लाबारीसम्म गाडी पठाउने गरेको उनले बताए । फुलुले खरबुजाबाट आम्दानी गरेको देखेर धीरेन मण्डल, दशरथ मण्डल, पाण्डव मण्डल र जनार्दन मण्डललेसमेत कनकाईमा खरबुजाको बगरखेती लगाएका छन् । बलौटे माटोमा राम्रो फल्ने भएकाले बगरखेती खरबुजाका लागि निकै उपयोगी देखिएको छ ।
मेचीनगर- ९ का डिल्ली उप्रेतीले एक दशकअघि व्यावसायिक खरबुजा खेतीको प्रवद्र्धन गरेका थिए । विर्तामोडको बट्टाबारीमा उनको खरबुजा खेती छ । उनले खेतमा खरबुजा फलाउन सकिन्छ भनेर प्रमाणित गरेपछि धेरैले खरबुजा खेतीमा लगानी बढाएका हुन् । त्यसअघि भद्रपुरको मेची बगरमा नेपाली र भारतीय किसानले यसको खेती गर्थे । नेपाली बजारमा भारतबाटै आएको खरबुजाको व्यापार हुन्थ्यो । अहिले भारतबाट आयात नगरे पनि स्थानीय खरबुजाले बजारको माग धान्नसक्ने अवस्था भइसकेको व्यावसायिक किसान हरि नेपाल बताउँछन् ।
‘स्वाद र गुणस्तरका हिसाबले हेर्ने हो भने नेपाली उत्पादन अर्गानिक हुन्छ’, उनले भने, ‘भारतबाट आउने खरबुजा सस्तो र कमसल हुन्छ ।’ भारतमा सरकारले कृषिका लागि बीउ, मल र सिँचाइमा प्रशस्त अनुदान दिने भएकाले लागत कम परेका कारण सस्तो भएको हो ।
बजारमा खरबुजाको प्रति केजी मूल्य ४५ देखि ६० सम्म छ । भाटभटेनी र सुपर मार्केटको बिक्री स्टलमा पनि स्थानीय खरबुजा पाइन थालेको छ । मेची बगरमा फलेको खरबुजा काठमाडौँका सुपरमार्केट र पाँचतारे होटलमा पुग्ने गरेको नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक खनालले बताए । झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानले खरबुजा फलाउने गरेका छन् ।