१५ लाख बुस्टर डोजः पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक

साझा कथा । सरकारले कोरोनाबिरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ ।
गत सोमवार कोरोना भाइरस संक्रममणबिरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोवल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ बिरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य शुरु भएको बताए । उनले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताए । सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरुमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरु उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम शुरु भइसकेको बताए ।
उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोपकेन्द्र गए सहजै खोप लगाउन सक्ने बताउदैँ, खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरुलाई खोप लगाइदिन आग्रहसमेत गरे । आजबाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन शुरु गरिएको छ । आफ्नो परिचय खुल्ने पत्र लिएर खोपकेन्द्रमा गए खोप लगाउन पाइनेछ । खोप नलगाउनुभएका मानिसहरुले चाँडो खोप लगाइदिन र दोस्रो मात्राको खोप लगाउन बाँकी भएपनि लगाउन पनि आग्रह गर्दछौँ । अन्तिम बुस्टर मात्रा दोस्रो बुस्टर लगाइसकेको ३ महिना भइसकेको छ भने पनि लगाइदिनुहोला । रोग प्रतिरोधात्मक क्षमता कम र ज्येष्ठ नागरिकहरुका लागि एक बुस्टरमात्रा लगाइसकेको ६ महिना कटिसकेको भएपनि लगाइदिने गरी प्रवन्ध गरेका छौँ ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?