खाद्य संकट गहिरिने संकेत, के हुँदा राहत मिल्ला ?

रसियाले ब्ल्याक सी ग्रेन इनिसिएटिभ (बीएसजीआई) सम्झौताबाट आफूलाई अलग गरेको घोषणा गरेको छ । जुन सम्झौताले युक्रेनमा उत्पादित खाद्यान्न ब्ल्याक सी हुँदै विश्व बजारहरूमा सुरक्षित पहुँच गर्न अनुमति दिएको थियो । रुसको यो निर्णयपछि विश्वभर खाद्यान्नको मूल्य बढ्ने र खाद्य संकट अझ गहिरिने सम्भावना बढेको छ ।

तत्कालिन समय सम्झौता गराउनका निम्ति भूमिका खेलेका टर्कीका राष्ट्रपति एर्दोगानले रुसलाई सम्झौतामा फर्कन मनाउन सकिने विश्वास व्यक्त गरेका छन् । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने यो निर्णयलाई रुसको बाध्यात्मक भएको बताएका छन् ।

युक्रेन युद्धमा पुटिनले खाद्यान्नलाई हतियारको रूपमा प्रयोग गर्ने वा बीएसजीआई सम्झौताको आडमा बार्गेनिङ गर्न पश्चिमा राष्ट्रहरूलाई दबाब दिइरहेको त होइन रु यतिबेला पुटिनको भनाइले यही संकेत गरेको देखिन्छ । पुटिनले बारम्बार मस्कोको हितलाई प्राथमिकतामा राख्नुपर्ने आफ्नो दायित्व भएको बताइरहेका छन् ।

ब्ल्याक सी दक्षिण–पूर्वी यूरोप र एशियाबीचको एक रणनीतिक क्षेत्र हो, जसको निकै महत्व रहेको छ । युरोपको ‘ब्रेड बास्केट’ भनेर चिनिने युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न आपूर्ति गर्ने देश हो । युक्रेनले विश्व बजारमा वार्षिक ४५ मिलियन टनभन्दा बढी खाद्यान्न उपलब्ध गराउँदै आएको छ । फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि, रुसी नौसैनिक जहाजहरूले युक्रेनको बन्दरगाहमा नाकाबन्दी गरेका थिए । रुसी नाकाबन्दीपछि पोर्ट कन्टेनरहरूमा दुई करोड टनभन्दा बढी खाद्यान्न अड्किएको थियो ।

रुसको यो कदमले अफ्रिका र मध्यपूर्वका धेरै देशहरूमा खाद्य संकट सिर्जना गरेको छ । खाद्यान्नको मूल्य आकाशिएको छ । यस्तो अवस्थामा गत वर्ष जुलाईमा रुस, टर्की, युक्रेन र संयुक्त राष्ट्रसंघले खाद्यान्न र अन्य मलमा सस्तो पहुँचका लागि ब्ल्याक सी ग्रेन इनिसिएटिभको रूपमा यो सम्झौतामा हस्ताक्षर गरेका थिए । यसअन्तर्गत, युक्रेनी बन्दरगाहबाट जहाजहरूलाई सुरक्षित मार्गको ग्यारेन्टी गरिएको थियो । यो सम्झौतालाई विश्वव्यापी खाद्यान्न संकट समाधानका लागि कूटनीतिक विजयका रूपमा हेरिएको थियो ।

सम्झौतापछि विश्वभर महँगी पनि घट्न थालेको थियो । सम्झौताकै कारण एक वर्षमा करिब २३ प्रतिशतले महँगी घटेको देखिन्छ । सम्झौताको बदलामा, युक्रेनले मे २०२३ सम्म ३२ मिलियन टनभन्दा बढी अन्न निर्यात गरेको छ । सम्झौतामा हस्ताक्षर भएपछि गहुँ र मकैको मूल्य क्रमशः १७ प्रतिशत र २६ प्रतिशतले घटेको छ । रुसले जुलाई १७ मा सम्झौता अन्त्य गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा खाद्यवस्तुको मूल्य तीन गुणासम्मले बढेको छ ।

यस मामिलामा पुटिनको आफ्नै पक्ष छ । उनले लामो समयदेखि रुसलाई आफ्नो खाद्यान्न र मल निर्यात गर्न दिने सम्झौता पश्चिमी प्रतिबन्धका कारण हुन नसकेको बताउँदै आएका छन् । पुटिनले गरिब देशहरूमा खाद्यान्न नपुगेको पनि बताएका छन् । पुटिनको आरोप निराधार छैन । यसबाट अफ्रिका र पश्चिम एसियाका मुलुकलाई खाद्य संकटबाट जोगाउन सहयोग पुग्ने गरी सम्झौताको पक्षमा तर्क गरिएको थियो ।

वास्तविकता यो थियो कि युक्रेनी बन्दरगाहहरूबाट निस्किएको अन्नको ठूलो हिस्सा युरोपका धनी देशहरूको बजारमा बिक्री भइरहेको थियो । जबकि अमेरिकासँगै यी देशहरूले रुसमाथि आर्थिक नाकाबन्दी लगाएर अर्थतन्त्रको घाँटी थिचेर बसेका छन् ।

पुटिनले सम्झौताबाट बाहिरिने निर्णय गरेपछि युक्रेनले विश्वमा खाद्यान्न पठाउन जारी राख्छ वा राख्दैन भन्ने कुरा अहिले स्पष्ट छैन । यद्यपि, जेलेन्स्कीले युक्रेनले ड्यान्युब नदीको माध्यमबाट निर्यात जारी राख्ने भनिरहेका छन् । तर युक्रेनी खाद्य निर्यात सुविधाहरू अवरुद्ध भइरहेको छ, किनकी शिपिङ्ग कम्पनीहरू रूसबाट सुरक्षा ग्यारेन्टी बिना युद्ध क्षेत्रमा खाद्यान्न पठाउन इच्छुक छैनन् । निःसन्देह, रूसको यो निर्णयको प्रभाव विश्वभर छिट्टै देखिनेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?