“इजरायलमा फेरि ठूलो नोक्सान हुदैँछ, प्रतिक्षा गरे हुन्छ” – गाजाको स्वास्थ्य प्रणाली ध्वस्त, लाखौँ विस्थापित

प्यालेस्टाइनी अतिवादी समूह हमासले आफ्नो भूमिको रक्षाका लागि इजरायलमाथि फेरि आक्रमण गर्ने चेतावनी दिएको छ । दुई पक्षबीचको जारी युद्धका कारण हजारौँको मृत्यु तथा लाखौं मानिस घरवारविहीन भएका बेला हमासले यस्तो धम्कि दिएको हो । हमासको सैन्य शाखाले गाजामा इजरायल आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।

हमासका ब्रिगेड प्रवक्ता अबु ओबैदाले भनेका छन, ‘हामी हाम्रो भूमि रक्षाको पक्षमा छौं, पुनः इजरायलमाथिको हमलालाई दोहोर्याउँछौं ।’ हमासले इजरायलको प्रतिकारवाहीले नयाँ ढंगले सोच्न बाध्य बनाएको पनि बताएको छ ।

‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुदैँछ अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ सैन्य बिग्रेड प्रवक्ता ओबैदाले भनेका छन् ।

गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले आक्रामण गरेपछि इजरायलले पनि गाजापट्टीमा आक्रमण तीब्र पारिरहेको छ । इजरायलले तत्काल सो आक्रामण नरोकिने बताएपछि हमासले पनि पछि नहट्ने प्रष्ट पारेको हो ।

इजरायलले गाजालाई पूर्णरूपमा घेरेको छ र पानी, इन्धन र बिजुलीको आपूर्ति बन्द गरेको छ । प्यालेस्टिनी क्षेत्रको एक मात्र विद्युत केन्द्र पनि इन्धन सकिए पछि बुधबारबाट बन्द गरिएको थियो । इजरायलले हमासले सबै बन्धकहरूलाई रिहा नगरेसम्म गाजा पुग्न कुनै पनि प्रकारको सहयोग नदिने बताउँदै आएको छ ।

इजरायलले १२ लाख गाजाबासीलाई २४ घन्टाभित्र बाहिर निस्कन भन्दै अन्यथा मृत्युका लागि पर्खिन चेतावनी दिएको छ । इजरायलको यस्तो चेतावनी पछि संयुक्त राष्ट्रसंघले भनेको छ, ‘परिणाम भयावह हुने देखियो, यसलाई इजरायलले रोक्नुपर्छ ।’

यसैबीच संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले आपतकालीन अपील जारी गरेको छ । संयुक्त राष्ट्र संघको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ ।

राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण गाजामा संयुक्त राष्ट्रसंघ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २ लाख १८ हजार मानिसले आश्रय लिएको बताएका छन् ।

उता, संयुक्त राष्ट्र संघले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने आफ्नो आदेश रद्द गर्न अनुरोध गरेको छ । सो अनुरोधमा भनिएको छ, ‘संयुक्त राष्ट्रले यस्तो आदेश खारेज गर्न अनुरोध गर्दछ ताकि यहाँको अवस्थालाई अझ बिग्रनबाट रोक्न सकिन्छ।’

संयुक्त राष्ट्र संघले इजरायललाइ गाजा पट्टीको उत्तरी भागबाट २४ घण्टाभित्र आफ्ना कर्मचारी फिर्ता गर्न आग्रह गरेको छ । साथै उसले गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई पनि आगामी २४ घण्टाभित्र दक्षिणी भागमा जान भनिएको छ । इजरायलले त्यहाँ हवाई आक्रमण गर्ने तयारी गरिरहेको छ ।

यसैबिच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको चेतावनी दिएको छ । डब्लुएचओले यो अवस्था तोड्ने क्रममा रहेको भन्दै गाजामा मानवीय प्रकोपको चेतावनी दिइएको छ । इजरायलको हवाई आक्रमणका कारण गाजाका अस्पतालहरू पनि क्षतिग्रस्त भएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?