तिहारको व्यापार – फोटो खिचे तर सामान किनेनन्, व्यापारीहरु निराश

साझा कथा । काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, महाबौद्ध, भोटाहिटी बर्षैभरी भीडभाड हुने स्थान हुन् । चाडपर्वका बेला त यी क्षेत्रमा खुट्टा टेक्ने ठाउँ नै हुँदैनथ्यो, व्यापारीलाई सामान बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । पसल र सामानअनुसार दैनिक ५० हजारदेखि एक लाखमाथिको व्यापार हुन्थ्यो । खासगरी दशैँ तिहारको बेला कतिपयले त दैनिक ५ लाखसम्मको व्यापार पनि गर्थे ।

तर देशमा अहिले आर्थिक गतिविधि सुस्त हुँदै गएको छ । आर्थिक सूचकांकहरु त्यति धेरै नकारात्मक नभएपनि व्यापार व्यवसाय धरासायी भएका छन्, रोजगारी गुम्दै गएका छन् । खासगरी कोरोना महामारीपछि आर्थिक मन्दी सुरु भएको छ । त्यसले व्यापार सुस्ताएको छ ।

यो बर्ष दशैँ तिहारको मौसममा काठमाडौंमा अत्याधिक भीड हुने ठाउँका पसलेहरुले पसलेहरुले सामान बेच्नभन्दा सडकमा हिँडेका सर्वसाधारण हेर्न बढी समय खर्च गरे । यस पटक आशातित व्यापार नभएको व्यापारीहरुको गुनासो छ । तिहार सुरु हुनु भन्दा डेढ साताअघि काठमाडौंका प्रमुख व्यापारिकस्थलमा सर्वसाधारणको घुईंचो देखिन्थ्यो ।

राजधानीका असन, न्यूरोड, भोटाहिटी, इन्द्रचोक, महाबौद्धलगायतका व्यापारीहरु तिहारमा समेत पर्याप्त व्यापार नभएपछि निराश देखिएका छन् । यो वर्ष आर्थिक मन्दीका कारण उत्साह नदेखिएको उनीहरुको भनाई छ । सडकपेटी र खुल्ला स्थानमा राखिएका सामान किन्नेको लाइन देखिए पनि पसलभित्र छिरेर सामान किन्ने कम भएको बताइन्छ । झट्ट हेर्दा राम्रै व्यापार भएको देखिएपनि व्यापारीहरु समग्रमा निराश भएका हुन् ।

‘चाडपर्वका बेला बजारमा मानिसको चहलपहल त बढ्यो तर व्यापार भएन । पसलमा किन्नेभन्दा पनि मोलमोलाई गर्न आउने बढी देखिए । अधिकांश त घुम्न, बजार भाउ बुझ्न र फोटो खिच्न मात्र आएको देखियो,’ विशाल बजारका एक जना पसलेले भने ।

उपभोक्ताको क्रयशक्ति कमजोर भएपछि व्यापार व्यवसाय कमजोर भएको हो । यसले व्यवसायीहरुको मनस्थिति पलायनतर्फ उन्मुख भएको छ । सहरी क्षेत्रमा व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका ४० प्रतिशतभन्दा बढी सटर खाली देखिन्छन् ।

व्यवसाय नचलेपछि व्यापारीहरु विदेश पलायन भएको बताइन्छ । व्यावसायिक सटर र गोदाम धमाधम खाली हुन थालेका छन् । अधिकांश व्यवसायीलाई दशैं–तिहारमा धेरै बिक्री हुने आश थियो । तर, त्यो पनि निराशामै बदलिएपछि उनीहरुले हरेश खान थालेका छन् ।

न्यूरोडस्थित रेडिमेड कपडाको व्यापार गर्दै आएका रोशन श्रेष्ठ व्यापारमा ठूलै मन्दी आएको बताउँछन् । व्यापार नभएपछि पसलमा सामान थुपार्नुपर्ने अवस्था सिर्जना हुँदा सस्तोमा सामान बिक्रीवितरण गर्नु परिरहेको उनले लक्ष्मीपूजाको अघिल्लो दिन बताएका थिए ।

छुट दिँदासमेत सामानहरु बिक्री नभएको उनको ठम्याई छ । ‘सबैभन्दा बढी व्यापार हुने भनेकै दशैं–तिहारमा हो । हामी पनि दशैं–तिहारमा केही हुन्छ कि भनेर बसेका थियौं । तर, त्यो अहिले निराशामा बदलियो,’ उनले अगाडि भने, ‘यसपालि चाडपर्वका बेला बजारमा चहलपहल त बढ्यो तर व्यापार सोचेअनुसार भएन ।’

फूल र उज्यालोको पर्व भनेर चिनिने तिहारमा यसपटक फूलको समेत व्यापार भएन । व्यापार नभएपछि किसानहरु वर्षभरको मेहेनतले उत्पादन गरेको फूल सडकमा फ्याँक्न बाध्य भएका थिए । त्यसैमाथि काठमाडौं महानगरपालिकाले ग्राहकलाई अपायक पर्ने स्थानमा फूल बिक्री केन्द्र तोकिदिएपछि फूल व्यापारीको बिचल्ली भएको हो । फूल विक्रि भइरहेको ठाउँमा सस्तोमा विक्रि भइरहेको थियो । झिलीझिली बत्तीको बिक्री पनि यो वर्षको तिहारमा खासै नभएको बताइन्छ । यो वर्षको तिहारमा झिलीमिली बत्तीको माग धेरै नभएको व्यवसायीहरुको गुनासो छ ।

पछिल्लो आर्थिक मन्दीले साना तथा मझौला व्यापारीहरु बढी मारमा परेका छन् । उनीहरुलाई मासिक भाडा बुझाउन समेत हम्मेहम्मे पर्न थालेको छ । सरकारले साना व्यापारीको व्यापार टिकाउन कुनै पहलकदमी नलिएमा अवस्था भयाभह हुन सक्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?