उपत्यकाका तीन जिल्लामा अपाङ्गमैत्री पैदलमार्ग निर्माण हुने

 काठमाडौं, पुस ११

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ ।

राजधानीमा अपाङ्गमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरब ढकालले जानकारी दिए ।

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा यो कार्यक्रम प्रारम्भ गरिने छ । अपाङ्गमैत्री पैदलमार्गका लागि कुन सडक उपयुक्त हो भन्ने विषयमा नगर प्रमुखले गरेको सिफारिसका आधारमा काम गरिने उनको भनाइ थियो । यसैगरी काठमाडौँको दक्षिणकाली, नागार्जुन र कागेश्वरी मनोहरा नगरपालिकामा पनि अपाङ्गमैत्री पैदलमार्ग निर्माण गरिनेछ ।

तीनवटै नगरपालिकाका कुन सडकमा यो मार्ग निर्माण गर्ने भन्ने सिफारिस नगर प्रमुखबाट आउने प्राधिकरणले जनाएको छ । यस्तो सिफारिस नगर प्रमुखबाट आउने क्रममा रहेको जनाइएको छ । ललितपुर महानगरपालिकाको कुन सडकमा यस्तो मार्ग बनाउने भन्ने सिफारिस नगर प्रमुखबाट आउन बाँकी रहेको सूचना अधिकारी ढकालले जानकारी दिए ।

महानगरपालिकाले यसअघि जावलाखेलमा यस्तो मार्ग निर्माण गर्ने भने पनि कालोपत्र भइसकेकाले त्यहाँ काम गर्न नसकिने जनाइएको छ । तीनवटै जिल्लामा अपाङ्गमैत्री पैदलमार्ग निर्माणका लागि रु १४ करोड बजेट विनियोजन गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?