‘सट्टेबाज’ कलाकारहरु पक्राउ

साझा कथा । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने गरेको आरोपमा ख्यातिप्राप्त कलाकारहरुसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, राजु मास्टर, म्याकुरी लगायत कलाकार र युट्युबर छन् ।

पक्राउ पर्नेमा गोरखा घर भई बनस्थली बस्ने ३५ वर्षीय हास्यकलाकार बल्छी ध्रुवे नामले चिनिएका मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय म्याकुरी भनेर चिनिएका पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर भनेर चिनिएका राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन् ।

त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भनेर चिनिएका बेगम नेपाली छन् ।

युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत ७४ करोड बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?