उपनिर्वाचनमा एमालेको ‘क्लीन स्वीप’- इलामबाट सुहाङ, बझाङमा दमनबहादुर

साझा कथा । बैशाख १५ गते भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको अन्तिमतिर पुग्दा इलाम– २ र बझाङ– १(क) मा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । नेकपा एमालेले दुबै क्षेत्रमा जीत निकाल्दै आफ्नो ‘गढ’ कायम गरेको छ ।

इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी २७ हजार ७ सय ७२ मतसहित निर्वाचित भएका हुन् । सुहाङले ५ हजार ८ सय ३० को भारी मतान्तरमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ मत पाए । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन कुमार लिम्बुले ५ हजार ५० मत पाएका छन् । इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन भएको हो  ।

उता बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनी ११ हजार ६१३ मतसहित विजयी भएका हुन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत पाए । त्यसैगरी नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो  ।

कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्  । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?