‘‘केही दिन पानी पर्न सक्छ, रेनकोट र छाता नभुल्नू’’

साझा कथा । स्थानीय र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा केही दिन बदली हुने भएको छ ।

पश्चिमी वायुसँगै भारतको मध्य क्षेत्रबाट न्यूनचापीय प्रणाली विकास भई बंगालको खाडीबाट नेपालमा जलवाष्पयुक्त हावाको प्रवेश भएको र त्यसले केही दिन पानी पार्ने सम्भावना रहेकाले केही दिन यात्रा गर्नेहरुले रेनकोट र छाता बोक्न नभुल्न सुझाइएको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार पानी पर्ने क्रम सुरू भएको छ । ‘देशभरि जसो नै बदलीको अवस्था छ । आजै अपराह्नपछि काठमाडौंसहित विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ ।’ मौसमविद अर्यालले भने, ‘पश्चिमी भूभागमा पनि पानी पर्ने सम्भावना छ।’

आइतबार काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी परेको थियो । त्यो क्रम बिहानबाट रोकिए पनि अपराह्नबाट पुनः सुरू हुने मौसमविद् अर्यालले बताए ।

मौसमविद् अर्यालका अनुसार ‘कतै पर्ला कतै नपर्ला तर दुईचार दिन पानी पर्ने सम्भावना छ ।’ भोलि र पर्सि मधेसदेखि पश्चिम बुटवलसम्म र पहाडी तथा हिमाली भूभागमा पनि वर्षाको सम्भावना रहेको अर्यालको भनाइ छ । उनले पश्चिम तराईका भूभागहरूमा भने पानी पर्ने सम्भावना नरहेको बताए ।

लामो समय पानी नपर्दा डढेलोले आक्रान्त बनेको नेपाललाई केही राहात भने मिलेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?