बौद्धिक स्तरमा नेपाल विश्वको पुछारमा

साझा कथा । बौद्धिकता मापनमा नेपाल विश्वको १९९ औँ नम्बरमा परेको छ । वल्र्ड पपुलेशन भ्युजले हालै सार्वजनिक गरेको तथ्यांक सहितको निश्कर्ष अनुसार जापान पहिलो नम्बरमा हुँदा नेपाल सबैभन्दा पुछारमा छ ।

शुन्यदेखि २ सय अंकभार तोकिएको सूचकांकमा नेपालले ४२.९९ प्राप्त गरेको छ । १९९ राष्ट्रहरुबीच अध्ययन भएकोमा नेपालले पुछारको हैसियत प्राप्त गर्दा लाइबेरिया ४५.०७ अंकसहित दोस्रो पुछारमा छ । यता जापानले १०६.४८ अंक सहित पहिलो बौद्धिक राष्ट्रको पहिचान बनाएको छ । यस्तै १०६.४७ अंकसहित ताइवान दोस्रो र १०५.८९ अंकसहित सिंगापुर तेस्रो बौद्धिकतामा उत्कृष्ट मुलुक बनेको छ । छिमेकी मुलुक भारत ७६.२४ अंक सहित १४३ औँ नम्बरमा हुँदा चीन १०४.१ अंक सहित पाँचौँ बौद्धिक मुलुक बनेको छ ।

दक्षिण एशियाली राष्ट्रहरुमध्ये सबैभन्दा सुध्रिएको अवस्था भुटानको छ जसले ८७.९४ अंक सहित ६८ औँ स्थान प्राप्त गरेको छ । नेपालले द्वन्द्वग्रस्त मुलुकहरु सुडान, घाना जस्ता राष्ट्रभन्दा पनि कम अंक प्राप्त गरेको छ ।

अध्ययनकर्ताहरुले कुनै पनि देशको बौद्धिक स्तर मापन गर्दा त्यस देशको साक्षरता, जनतामा रहेको ज्ञान, चेतना, तर्क क्षमता र विश्लेषण क्षमता, नयाँ डाटा प्रविधिको प्रयोग लगायतका विषय अध्ययन गर्ने गर्दछन् । अध्ययनकर्ताहरुका अनुसार कुनै पनि देशमा लिइने शैक्षिक परीक्षाको नतिजालाई पनि तथ्यांक संकलनको आधार बनाइन्छ । यति मात्रै होइन सम्बन्धित देशले प्राप्त गर्ने नोबल पुरस्कारलगायतका अन्तराष्ट्रिय पुरस्कारहरुको संख्यालाई पनि आधार बनाइन्छ । सँगै बौद्धिक स्तर तय गर्दा सम्बन्धित मुलुकमा व्याप्त गरिबी, शैक्षिक सुविधा, स्वास्थ्य सुविधालाई पनि आधार बनाइने उक्त संस्थाले जनाएको छ ।

रिचार्ड लिन र डेभिड बेकरले गर्दै आइरहेको यस्तो अध्ययन विवादित पनि हुने गरेको छ । यी रिपोर्टमाथी वैज्ञानिकता र निश्पक्षताको प्रश्न उठ्ने गरेका छन् । तर कतिपय मुलुकका विद्वत वर्गले यस्तै अध्ययनलाई आधार बनाएर देशहरुको विश्लेषण गर्ने र जनताप्रति सोही अनुसारको व्यवहार गर्ने गरेका छन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?