अस्ट्रेलिया पलायन भए राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल

साझा कथा । पछिल्लो केहि बर्ष यता नेपाली राष्ट्रिय टिमबाट खेलेका धेरै खेलाडीहरु अस्ट्रेलिया लगाएतका देशमा पलायन भइसकेका छन् । यसै बिच नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया गएका छन् ।

दशकभन्दा लामो फुटबल करियरलाई त्यागेर अस्ट्रेलिया जाने खेलाडीको सूचीमा विमल घर्तिमगर पनि थपिएका छन् । उनले सन् २०१२ मा १४ वर्षको उमेरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए । एन्फा एकेडेमीका उत्पादन विमलले नेपालका लागि ४० क्याप जितेका छन् भने नेपालका लागि उनले ३९ खेलमा ९ गोल गरेका छन् ।

२५ वर्षीय विमलले मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए–डिभिजन लिग खेलेका थिए। सन् २०१५ मा नेपालले विमलको कप्तानीमा भारतलाई हराउँदै पहिलो अन्डर नाइन्टीन साफ च्याम्पियनसिप जितेको थियो।

गत साउनमा नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहेको अवस्थामै राष्ट्रिय टिमका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया गएका थिए । त्यसको केही दिनअघि अन्तिम सिजनको ए–डिभिजन लिगका सर्वाधिक गोलकर्ता दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए।

नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ। पछिल्लो एक वर्षमा नेपालका ५० भन्दा धेरै खेलाडी अस्ट्रेलिया लगाएतका देशमा पलायन भइसकेका छन्।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?