कतारी राजाको नेपाल भ्रमण राष्ट्रिय अखबारको प्राथमिकतामा: विपिनको रिहाइ ‘मुख्य विषय’

साझा कथा । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मङ्गलबार काठमाडौँ आएका हुन् ।

मङ्गलबार अपराह्न काठमाडौँ ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । उनी मङ्गलबार राति राष्ट्रपति पौडेलले आयोजना गरेको राजकीय भोजमा सरिक भएका थिए । कतारी अमिरले आज प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र शिक्षा, खेलकुदलगायत क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौताा हस्तक्षर गर्ने कार्यक्रम छ ।

काठमाडौँबाट प्रकाशित राष्ट्रिय प्रमुख अखबारले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तालाई प्रमुखताका साथ छापेका छन् । अधिकांश अखबारले सो भेटवार्तामा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न राष्ट्रपति पौडेलले गरेको आग्रहलाई समाचारको मुख्य विषय बनाएका छन् ।

देशको सबैभन्दा पुरानो गोरखापत्र’ दैनिकले प्रथम पृष्ठमा राष्ट्रपति पौडेल र अमिर थानीबीच भेटवार्ता भेटवार्ता भएको र त्यसबाट बृहत साझेदारीको मार्ग प्रशस्त भएको सम्बन्धी समाचार प्रकाशन गरेको छ ।

कान्तिपुर’ दैनिकले राष्ट्रपति पौडेलसँग भेटका लागि शीतलनिवासमा पुगेका कतारी अमिरको तस्वीर पहिलो पृष्ठमा छापेको छ । कान्तिपुरले कतारी अमिरको नेपाल भ्रमणसम्बन्धी समाचार दोस्रो र तेस्रो पृष्ठमा प्रकाशित गरेको छ ।

‘नयाँ पत्रिका’ दैनिकले कतारी अमिरको भ्रमणसम्बन्धी खबरलाई पहिलो पृष्ठमा नै समावेश गरेको छ । राष्ट्रपति पौडेल र कतारी अमिरबीच वार्ता भएको र सो वार्तामा नेपाली विद्यार्थी जोशीको रिहाइदेखि कतारमा काम गर्ने नेपाली श्रमिकको सुरक्षा र नेपालमा लगानीसम्मका विषयमा छलफल भएको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

‘अन्नपूर्ण पोष्ट’ दैनिकले कतारका अमिरको नेपाल भ्रमणसम्बन्धी समाचार ‘विपिन उद्धारको पहल गरिदिन कतारी राजासँग राष्ट्रपतिको आग्रह’ शीर्षकमा ‘एङ्कर न्यूज’का रुपमा प्रकाशन गरेको छ । उक्त समाचारमा कतारी अमिर थानीले ‘नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध’ उपशीर्षकमा सोसम्बन्धी विषयलाई पनि छापेको छ ।

‘राजधानी’ दैनिकले पनि अमिरको नेपाल भ्रमणसम्बन्धी समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेको छ । पहिलो पृष्ठमा ‘राष्ट्रपति पौडेल र कतारका अमिरबीच द्विपक्षीय छलफल’ शीर्षकमा समाचार छापिएको छ ।

‘हिमालय टाइम्स’ दैनिकले ‘मध्यपूर्व एसियाबाट पहिलो उच्चस्तरीय भ्रमण’ शीर्षकमा पहिलो पृष्ठमा कतारी अमिरको भ्रमणसम्बन्धी समाचार छापेको छ । हिमालय टाइम्सले ‘डेढ सय जनाको भ्रमण दल, ११ जनाको विशेष प्रतिनिधिमण्डल छुट्टै’, ‘विपिन जोशी रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिको आग्रह’, ‘आज प्रधानमन्त्रीसँग भेटवार्ता, के–के विषयमा हुँदै छ समझादारी र सम्झौता ?’, ‘कतारबाट नेपालले पैसा र प्रविधि ल्याउन सक्नुपर्छः पूर्वराजदूत उपाध्याय’ र ‘श्रमिकको हितअनुकूल श्रम सम्झौता परिमार्जन गर्न आवश्यकस् पूर्व–परराष्ट्रमन्त्री डा खड्का’ उपशीर्षकमा पुरक समाचार पनि प्रकाशन गरेको छ ।

अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तासम्बन्धी समाचारलाई पहिलो पृष्ठमा छापेको छ । कतारी अमिरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएकोसम्बन्धी समाचार पनि राइजिङ नेपालमा छ । अर्को अङ्ग्रेजी दैनिक ‘द काठमाडौँ पोष्ट’ले पनि राष्ट्रपति पौडेल र कतारी अमिरको भेटसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

विद्युतीय सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सार्वजनिक तथा निजी क्षेत्रका प्रसारण संस्था तथा सबै ‘अनलाइन न्युजपोर्टल’ले कतारी अमिरको भ्रमणसम्बन्धी समाचार एवं तस्वीर प्रकाशन एवं प्रसारण गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?