सोह्रखुट्टेको कथा (भिडियो)

Featured Video Play Icon

सोह्रखुट्टे अर्थात सोह्र ओटा खुट्टा । सोह्रखुट्टेमा रहेको यही पाटीको नामबाटै ठाउँको नाम सोह्रखुट्टे भएको भनाइ छ । जुन पाटीको सोह्र ओटा खुट्टा अर्थात खाँबो छ ।

२०७१ सालमा भएको सडक विस्तारभन्दा अघि सोह्रखुट्टे पाटी यो ठाउँमा थियो । अहिले त्यही पाटी थोरै पर यता सारिएको छ – भनौं बन्दैछ । तर, मलाई सानो कुरा भन्न मन लागेको चाहिँ २०७४ सालदेखि बनाउन सुरु भएको यो पाटी किन अहिलेसम्म नबनेको होला ?

काठमाडौं जस्तो ठाउँमा एउटा सानो पाटी बनाउन थालेको ६/६ वर्षमा पनि सकिँदैन भन्या ? जिम्मा लिने ठेकेदार कम्पनी कहाँ हरायो ? बनाउने दायित्ववहन गरेको सडक विभाग के गर्दैछ ? सोह्रखुट्टेस्थित १६ नम्बरको वडा कार्यालय यहीँ छ, उसैले घच्घच्याएपनि हुने हो । तर, किन यस्तो बेबारिसे बनाएको होला भन्या ?

आज बन्ला भन्यो बन्दैन, भोली बन्ला भन्यो बन्दैन । पाटी नबन्दा यहाँ फोहोर फाल्ने र शौच गर्नेहरुलाई यो राम्रो ठाउँ बनेको छ । त्यस्तो ऐतिहासिक ठाउँ अहिले दुर्गन्धित छ ।

भनेको सुनेको – सोह्रखुट्टे पाटीमा बटुवाहरु थकाई मार्थे, कृषकहरुले विश्राम लिन्थे, बटुवाहरुका लागि घैलामा पानी हुन्थ्यो, उस्तै परे बास यहीँ बस्थे । नुवाकोटको भगवती पकनाजोलमा जात्राको लागि ल्याउँदा यही पाटीमा राखिन्थ्यो – पुजा गरिन्थ्यो । मल्लकालिन समयमा नेपाल–भोटबीच व्यापार हुँदाताका व्यापारीहरूका लागि परिवार-आफन्तले पुर्याउन र लिन आउने ठाउँ पनि यही रहेछ । जुन १८६४ मा कपरदार भोटु पाण्डेले निर्माण गर्न लगाएका थिए । तर, माल पाएर चाल नपाएको अहिलेको सरकारले यो सोह्रखुट्टेको हाल बेहाल बनाइदिएको छ ।

नेपालमा पाटीपौवा बनाउने चलन हराइसक्यो । नयाँ पुस्तालाई पाटीपौवा भनेको चिनाउनै गारो छ । तर, काठमाडौंको मुटुमा बन्दै गरेको यो पाटी किन यस्तो बेहाल बनाइदिएको होला ? लौन ठेकेदारलाई कारबाही गर्ने हो कि ? सरकारलाई नै घच्घच्याउने हो कि ? कि नागरिकले आन्दोलन नै गर्नु पर्ने हो ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?