यू-१९ विश्वकपः सुपर सिक्स नेपालको अन्तिम गन्तव्य हो ?

साझा कथा । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्समा पुगेसँगै नेपालको अबको यात्राका बारेमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । सुपर सिक्सको १ मा नेपालसहित भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान र आयरल्याण्ड छन् । यी टोली मध्ये सेमिफाइनल पुग्नका लागि नेपालले भारत र बंगलादेशसँग खेल्दैछ । सुपर सिक्स नेपालको अन्तिम गन्तव्य हो ? भन्ने प्रश्नको सहज उत्तर ‘जिते होइन, हारे हो’ हुन सक्छ । तर, परिस्थिति फरक छ – भारत र बंगलादेशलाई जिते पनि नेपाललाई सेमिफाइनलमा पुग्न गाह्रो छ । नेपालले सुपर सिक्सको पहिलो खेल बुधबार बंगलादेशसँग खेल्दैछ भने अर्को खेल शुक्रबार भारतसँग खेल्नेछ ।

सुपर सिक्सको दुई खेल जित्दा पनि नेपाल सेमिफाइनलमा पुग्न कठिन हुनुको पछाडि यस्ता कारण छन् । नेपाल अहिले अंक विहिनताको अवस्थामा छ । किनकी, समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको अंक नहुँदा सेमिफाइनल सम्भावना कठिन बनेको हो ।

पाकिस्तान र भारत दुवै समूह ‘डी’ र ‘ए’का विजेता बन्दै सुपर सिक्समा ४/४ अंकका साथ आएका छन् । न्युजिल्यान्ड र बंगलादेश २/२ अंकका साथ आएका छन् । नेपाल र आयरल्यान्ड भने अंक विहीनको अवस्थामा हो ।

यदि पाकिस्तान र भारतले एक/एक खेल जितेको खण्डमा पनि ६/६ अंक हुनेछ । अर्कोतर्फ नेपालले दुवै खेल जितेपनि ४ अंकमा मात्रै पुग्न सक्छ । भारत र पाकिस्तानले दुवै खेल हारेको खण्डमा उता न्युजिल्यान्ड र बंगलादेशको नतिजा पनि हेर्नुपर्छ । त्यसैले गर्दा पनि दुवै खेल जितेपनि नेपाल सेमिफाइनलमा सीधै पुग्न सक्दैन । अन्य टोलीको नतिजा र नेटरनरेटमा भर पर्नुपर्ने हुन्छ ।

समूह १ को सुपर सिक्समा भारत २ खेलमा ४ अंकका साथ नेटरनरेट प्लस २.८५० का साथ शीर्षस्थानमा छ । पाकिस्तानको पनि ४ अंक भए पनि नेटरनरेट प्लस १.३५६ हुँदा दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा २ अंकका साथ नेटरनरेट माइनस ०.६५१ हुँदा तेस्रो स्थानमा छ । बंगलादेश २ अंकका साथ नेटरनरेट माइनस ०.८०० हुँदा चौथो स्थानमा छ । नेपाल २ खेलमा अंकविहीन हुँदै नेटरनरेट माइनस ०.८०० हुँदा पाँचौं स्थानमा छ । आयरल्यान्ड २ खेलमा अंकविहीन हुँदै नेटरनरेट माइनस २.२२७ हुँदा पुछारमा छ ।

सुपर सिक्सको सबै खेल खेलेपछि शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यसैले, नेपालले सेमिफाइनलमा पुग्ने लक्ष्य राख्नु स्वभाविक हो । तर, सेमिफाइनलमा नपुगे पनि दुबै खेल जित्ने र जित्न नसकेपनि सम्मानजनक हार व्यहोर्ने तिर ध्यान दिनुपर्छ । यो खेलबाट अनुभव बटुली आगामी दिनका लागि सुखद् यात्राको सुरुवात यहीबाट गर्न सकिन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?