भीमेश्वर विराजमान भएको भीमेश्वर नगरपालिका (भिडियोसहित)

Featured Video Play Icon

साझा कथा । नेपालको एक प्रसिद्ध धार्मिक तीर्थस्थल मध्येको एक दोलखा भीमसेन अर्थात भीमेश्वर मन्दिर । मूर्तिमा पसिना आउँदा देशमा अनिष्ट हुन्छ भन्ने संकेत गर्ने जनविश्वासका कारण यो मन्दिर प्रसिद्ध छ । यही मन्दिरले दोलखा जिल्लालाई नै विश्वमानचित्रमा परिचित गराएको छ । यही मन्दिरको नामबाटै नामाकरण भएको एक नगरपालिका हो – भीमेश्वर नगरपालिका ।

यो नगरपालिका दोलखा जिल्लाकै प्रवेशद्वारा हो । यसलाई पूर्वमा वैत्येश्वर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा कालिञ्चोक गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा शैलुङ गाउँपालिकाले घेरेको छ । जिल्लाको सदरमुकाम समेत रहेको यस नगरपालिका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टीले प्रसिद्ध छ । जहाँ पुग्न नेपालको राजधानी काठमाडौंबाट १ सय ३३ किलोमिटरको यात्रा गर्नुपर्छ ।

भीमेश्वर नगरपालिका धार्मिक तीर्थस्थलका रुपमा प्रसिद्ध छ । विश्वभरका हिन्दू धर्मावलम्बीमाझ परिचित भीमेश्वर मन्दिर यसै नगरपालिकास्थित वडा नं. २ द्वाल्खा बजारमा अवस्थित छ । द्वाल्खा बजारभित्रै रहेको त्रिपुरासुन्दरी, बारणसी, बालकुमारी, मञ्जुश्री, राजकुलेश्वर, गणेश मन्दिर, स्वयम्भू चैत्य लगायतका दर्जनौं तीर्थ स्थल, मठ मन्दिर, चैत्य र सम्पदाहरु यसै मन्दिर आसपास रहेका छन् ।

मल्लकालसम्म भीमेश्वर नगरपालिका २ मा रहेको यो द्धाल्खा बजार छुट्टै राज्य थियो । यहाँका राजा ईन्द्रसिंह देव मल्लले चाँदीको सिक्का प्रचलनमा ल्याएका थिए । त्यस बेलाको सिक्का टक मार्ने टक्सार घर द्धाल्खा बजारमा अझै छ । द्धाल्खा बजार संस्कृति कला र रितिरिवाजमा अब्बल छ । द्धाल्खा, चरिकोट बजार सहितका विभिन्न बस्तीहरुमा दर्जनौंको संख्यामा परम्परागत जात्रा, पर्वहरु यो बजारमा सञ्चालन हुँदै आएका छन् ।

भीमेश्वर नगरपालिकामा प्रसिद्ध महाकांल मन्दिर पनि छ । वडा नं ५ मा रहेको यो मन्दिर प्राचीन कालिन मन्दिर हो । गोर्खा भूकम्पपछि जीर्णोद्वार भई नयाँ संरचनाहरु समेत निर्माण हुँदा मन्दिर आकर्षक र व्यवस्थित देखिएको छ ।

दोलखाको सदरमुकाम चरिकोटको चरिघ्याङमा रहेको बौद्ध स्तुपा, चरिकोट बजार क्षेत्रमै रहेको कोटीहोम यज्ञशाला, पशुपति मन्दिर तथा भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा रहेका बुढाभीमसेन मन्दिर, टहलेश्वर महादेव मन्दिर, खप्तडबाबा कुटी, सुन्द्रावती मन्दिर, फुर्वा लाख्यान गुम्बा लगायतका विभिन्न मठमन्दिर, स्तुपा र गुम्बाहरु यस नगरपालिकाको आकर्षण हुन् ।

धार्मिक स्थलसँगै पर्यटकीय दृष्टिले पनि भीमेश्वर नगरपालिका उत्तिकै चर्चित छ । नगरपालिकाका नौ ओटै वडामा फरकफरक खालका पर्यटकीय स्थलहरु रहेका छन् । थामी समुदायको बाक्लो बस्ती रहेको राङराङथली दोलखा जिल्लाकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदैछ । यहाँ राष्ट्रिय थामी संग्रहालयदेखि पर्यटकहरुका लागि सुविधासम्पन्न आवासगृह समेत निर्माण गरिदैछ ।

मञ्जुश्री पार्क र चम्पुजा हरियाली पार्क आन्तरिक पर्यटक माझ चर्चित छन् । द्वाल्खा बजार नजिक उच्च भूभागमा रहेकोले यसप्रति पर्यटकहरुको आकर्षण बढ्दो छ । नगरपालिका क्षेत्र भित्रै रहेको मयुर पार्क, बृन्दावन पार्क, सिमपानी पोखरी पार्क, खोरथली भ्यूटावर पार्क, चोथाङमा बन्दै गरेको बहुसांस्कृतिक सहंग्रालय जस्ता पर्यटकीय स्थलले नगरपालिका क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ ।

चरिकोट–खाडीचौर सडक खण्डमा रहेको आकर्षक शिव पोखरीले पनि पर्यटकलाई लोभ्याउँछ । यही क्षेत्रबाट जाने डाङडुङे डाँडालाई नेपाल सरकारले नै फिल्मसिटी एरियाको रुपमा विकास गर्ने लक्ष्य लिएको छ, यो ठाउँ आफैमा मनमोहक लाग्दछ ।

वडा नं. ७ र ८ को सिमा क्षेत्रमा रहेको हात्ति छहरा दोलखा जिल्लाकै पहिचान बनेको छ । बर्खा याममा अत्याधिक ठूलो र आकर्षक देखिने यो छहरा हेर्नकै लागि पर्यटकहरु यहाँसम्म आईपुग्ने गर्दछन् ।

भीमेश्वर नगरपालिका प्राकृतिक दृष्टिले पनि सुन्दर र सम्पन्न छ । सात कोशी मध्येको एक तामाकोशी यसै नगरपालिकालाई सिमा बनाएर अविरल बगिरहेको छ । यस नदिमा ¥याफ्टिङको सम्भावना प्रचुर छ ।

५८ दशमलव ७१ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको भीमेश्वर नगरपालिकाको सुष्पा क्षमावती जलाधार क्षेत्रमा मात्रै ४२ प्रकारका सुनाखरी पाइन्छ । जो अध्ययन र अनुसन्धानका लागि विश्वको केन्द्र बन्न सक्छ । त्यस्तै, यही नगरपालिकामा माउन्टेन बाइकिङ जस्तो साहसिक खेलको सम्भावना पनि उत्तिकै छ । ३ किलोमिटरको छोटो दुरीमा कालिन्चोकको ३८०० मिटरदेखि तामाकोशीको ८०० मिटरसम्मको भर्टिकल ड्रपमा माउन्टेन बाइकिङ रेस गर्न सकिन्छ । जुन विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्छ ।

प्राकृतिक संरचनाको हिसाबले होस् वा मानव निर्मित संरचनाका कारणले नै किन नहोस् दोलखाको भीमेश्वर नगरपालिकाले आफ्नो परिचय दिएको छ । धार्मिक तथा ऐतिहासिक दृष्टिले होस् या पर्यटकीय सुन्दरताका कारण, भीमेश्वर नगरपालिका अब्बल छ । आर्थिक विकासको केन्द्र बन्दै गएको यो नगरपालिका अब जिल्लाकै अग्रणी पालिकासँगै देशकै नमूना नगरपालिकाको रुपमा स्थापित हुने चरणमा छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?